काठमाडौं । वीपी स्मृति दिवसमा नेपाली कांग्रेस संस्थापन इतरका नेताहरुले पार्टी सभापति गगन थापासँग आफूहरुलाई सक्दो चाँडो केन्द्रीय समितिमा मिलाउन आग्रह गरेका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पूर्व उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा भएको कार्यक्रममा उपस्थित नेताहरुले शिघ्र एकताका लागि आग्रह गरेका हुन्।
पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको इतर पक्षले यसअघि पाँच बुँदे एकताको प्रस्ताव पठाइसकेको उल्लेख गर्दै नेता डा प्रकाशशरण महतले विशेष महाधिवेशनमा छुटेकालाई केन्द्रीय समितिमा जोड्न आग्रह गरे।
‘हामी पार्टीको बृहत्तर एकता चाहिरहेका छौं। यसका लागि १५औं महाधिवेशन निष्पक्ष हुन जरुरी छ। यसका लागि १४औं महाधिवेशनबाट आएका साथीहरुलाई जोडौं। जो विशेष महाधिवेशनमा छुटेका थिए,’ नेता महतले भने, ‘अधिकारसम्पन्न संयन्त्र बनाउँ। सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने हो।‘
त्यस्तै, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनबाट सभापति बनिसकेकाले गगनले अब सबैलाई एक बनाएर लैजान आँट गर्नुपर्ने सुझाव दिएका थिए।
‘नयाँ कार्यदिशामा जान सक्छ। त्यसैले गगनजी, आँट गर्नुस् मिलाउन। नत्र गाह्रो हुन सक्छ,’ सिटौलाले भने।
अर्का पूर्व महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई एक बनाउने जिम्मा सभापति थापाकै भएको बताए। नभए यसको क्षति थापाले नै ब्यहोर्नुपर्ने कोइरालाको भनाइ थियो।
‘अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ,’ कोइरालाले भने।
पार्टीका अर्का नेता मोहन बस्नेतले भन अब पर्खेर बस्न नसक्ने बताए। पार्टीमा तत्कालै देउवाको नेतृत्वमा समानान्तर समिति बनाउनुपर्ने बस्नेतको तर्क थियो।
‘देउवाको नेतृत्वमा पार्टी बनाउँ। टोलटोलमा समानान्तर समिति गठन गरौं। अब पर्खेर बस्न हुँदैन। गगनसँग सति जान सकिँदैन,’ बस्नेतले भने।
कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आफूहरुले राष्ट्रिय भेलासम्म कुर्ने र उक्त समयसम्म एकताका लागि पहल नभए नयाँ कार्यदिशामा जाने चेतवनी दिए।
‘निर्वाचन आयोग र सर्वोच्च अदालतले हाम्रो पार्टी फुटाएको छ। राष्ट्रिय भेलासम्म हामी कुर्छौं। त्यो बेलासम्म एकता नभए नयाँ कार्यदिशामा जान्छ,’ निधिले भने।
कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले सभापति थापा हुकुमी शासक बनेको आरोप लगाए। एकताका लागि सभापति थापाले पहल गर्नुपर्ने नभए गम्भीर रुप लिने कोइरालाको भनाई थियो।
‘नेपाली कांग्रेस हुकुमी शासनको शैलीमा चलिरहेको मैले महसुस गरिरहेको छु। वडा सभापतिहरुलाई बिना स्पष्टीकरण अद्यावधिक किन नगराएको भन्ने नाममा निकालिएको छ,’ कोइरालाले भने, ‘सभापतिजीले पहल गर्नुभएन र यसले अर्कै रुप लिए सभापतिले नै जिम्मा लिनुपर्छ।‘
इतर पक्षले गत पुस मसान्तमा सम्पन्न विशेष महाधिवेशन बहिस्कार गरेका केन्द्रीय समितिका सबै नेताहरुलाई गगन नेतृत्वको केन्द्रीय समितिमा समेट्नुपर्ने माग अघि सार्दै आएको छ। गगन नेतृत्वको कांग्रेसले भने यसलाई अस्विकार गर्दै आएको छ।
पूर्व उपसभापति खड्काले पार्टीमा टुक्रे एकता नभई सम्पूर्ण एकता गर्नुपर्ने बताए। ‘नेपाल देश नरहने अवस्थामा पुगेको छ। यस्तो अवस्थामा कांग्रेस सम्पूर्ण एकताको आवश्यकता छ। टुक्रे एकताको पक्षमा हैन,’ खड्काले भने।
पार्टी विभाजनको डिलमा पुगेको उल्लेख खड्काले ५४ प्रतिशत र ४६ प्रतिशतबीच एकता हुनुपर्ने बताए।
‘विशेष महाधिवेशन पक्षधर ५४ प्रतिशत र बाहिर रहेका ४६ प्रतिशत हो। केन्द्रमा यहीबीच विभाजन भएको हो। यो मिलाएर १५औं महाधिवेशन गरौं गगनजी,’ खड्काले भने।










