‘ग्रीन रन’ प्रतियोगिताका विजयीलाई गगन थापाले प्रदान गरे पुरस्कार, कल्याण कोषको घोषणा



बिजमाण्डू
२०८३ साउन ६ गते १२:२२ | Jul 22, 2026
‘ग्रीन रन’ प्रतियोगिताका विजयीलाई गगन थापाले प्रदान गरे पुरस्कार, कल्याण कोषको घोषणा


काठमाडौं। बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले बुधबार आयोजना गरेको ग्रीन रन प्रतियोगितामा विजयीहरूलाई पुरस्कार प्रदान गरिएको छ।

Tata
GBIME

ललितपुरको यूएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गरेका हुन्।

प्रतियोगिताका लागि तय गरिएको ५ किलोमिटरको धावन मार्ग १६ मिनेट १५.७ सेकेन्डमा पूरा गरी मुकेश बहादुर पाल प्रथम भएका छन्। उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरेका छन्।

त्यसैगरी, दोस्रो भएका नरेन्द्र सिंह रावललाई २५ हजार रूपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ। प्रतियोगितामा चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौ भएका अमृत ठकुरीलाई १० हजार र छैठौँ भएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगितामा सहभागिताका लागि झण्डै १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावन मार्ग छोडेर दौडेकाले उनीहरुलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ।

ग्रीन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी थिए भने अन्य सयौँले अप्रतियोगीको रुपमा सहभागिता जनाएका थिए। प्रतियोगितापछि जाउलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूका बीचमा छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो।

पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकता रहेकोमा जोड दिइएको थियो।

प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न समेत लागेको सभापति थापाले बताए। जंगल, जमिन लगायतका प्राकृतिक स्रोत साधनहरूलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाले त्यतिबेला नै ल्याएको सभापति थापाले स्मरण गराए।

बीपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोत साधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले अहिले फेरि संकल्प गरेको उनको भनाइ थियो।

सो अवसरमा जलवायुपरिवर्तन सम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो।

सबै कार्यक्रममा सहभागीहरूलाई विभिन्न जातका बिरुवा समेत वितरण गरिएको थियो। बिरुवा वितरण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी रहने कांग्रेसले जनाएको छ।

कल्याण कोषको घोषणा

कांग्रेसले आजै मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ।

कोषको घोषणा गर्दै सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए। कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट संकलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनले बताए।