बाढीपहिरोको जोखिम बढेपछि काठमाडौं प्रशासनले यात्रु र चालकलाई गरायो सचेत



बिजमाण्डू
२०८३ साउन २ गते १८:५० | Jul 18, 2026
बाढीपहिरोको जोखिम बढेपछि काठमाडौं प्रशासनले यात्रु र चालकलाई गरायो सचेत


काठमाडौं। मनसुनी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडकमार्गबाट उपत्यका आवतजावत गर्ने सबै यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

Tata
GBIME

प्रशासनले भारी वर्षाको सम्भावना रहेका दिनमा विशेषगरी रातिको यात्रा गर्दा उच्च सावधानी अपनाउन अनुरोध गरेको हो।

प्रशासनका अनुसार जल तथा मौसम विज्ञान विभागले रेड अलर्ट जारी गरेका सम्भावित क्षेत्रलाई ध्यानमा राखेर यात्रा गर्नु उचित हुन्छ। काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिम सबै प्रवेश नाकाबाट आउने-जाने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक, सवारीधनी र यात्रुलाई सचेत रहन भनिएको छ।

विगतका वर्षमा रातिको समयमा आएको बाढी र पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रशासनले त्यसबाट पाठ सिक्न आग्रह गरेको छ। त्यसैले सम्भावित भारी वर्षा हुने दिनमा अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न वा अत्यन्त सावधानी अपनाएर मात्रै यात्रा गर्न प्रशासनले भनेको छ।

यात्रा सुरु गर्नुअघि राजमार्गको अवस्था बुझ्न पनि प्रशासनले आग्रह गरेको छ। सडकका कुनै खण्डमा बाढी वा पहिरोका कारण अवरोध भए वा नभएको जानकारी प्रहरी प्रशासनबाट यकिन गरेर मात्रै यात्रा गर्न प्रशासनको अनुरोध छ।

यात्राका क्रममा सडक अवरुद्ध भएको अवस्थामा सुरक्षित स्थानमा मात्र सवारी रोक्न र यात्रुका लागि खाना तथा पानीको व्यवस्था मिलाउन प्रशासनले सम्बन्धित पक्षलाई आग्रह गरेको छ। प्रहरी प्रशासनले सडक संचालनमा आएको पुष्टि गरेपछि मात्र यात्रा पुनः सुरु गर्न पनि सूचनामा उल्लेख गरिएको छ।

आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलका टोलफ्री नम्बरमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ। आवश्यक सहयोगका लागि १००, १०३, १११४ र १२३४ नम्बरमा जुनसुकै बेला सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।