कर्णाली। कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल शनिबार कालीकोट पुगेका छन्।
सडकको अवस्थाबारे सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुगेको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए।
मन्त्री लम्सालले शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका छ। ती सडकको निरीक्षण सकेलगत्तै उहाँ नेपाल–चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताए।
स्थलगत अनुगमन तथा निरीक्षणको यात्रामा हिँडेका मन्त्री लम्सालले जनताको दुःख जनताकै क्षेत्रमा आएर सुन्ने बताइएको छ। कर्णालीका ६ र सुदूरपश्चिमको बाजुरा जिल्लाको सडक पूर्वाधारको अवस्था स्थलगत रूपमा बुझ्न मन्त्री आफैं निस्केका हुन्। रासस









