काठमाडौं। सरकारले बिजनेस नदिएपछि प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ। सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठक साउन १४ गते बस्ने गरी स्थगित गरेका हुन्।
अर्यालले भने सांसदहरुलाई जनताकहाँ पुग्न आवश्यक देखिएका कारण बैठक स्थगित गरेको बताएका छन्।
‘सांसदहरु जनतासँग कति निकट छन् भन्ने कुराले संसद्को जीवन्तता देखिन्छ। जनताबीच निरन्तर पुग्नु, जनतासँग संवाद गर्नु र जनमतलाई संसदीय प्रक्रियामा प्रतिबिम्बित गर्नु प्रत्येक माननीय सदस्यको आधारभूत संसदीय जिम्मेवारी हो। तसर्थ जनताका आवाजलाई सदनसँग जोड्ने र विधेयकहरुमाथि व्यापक बहसको पृष्ठभूमि तयार गर्ने महत्वपूर्ण कार्यमा आफ्ना मतदातासम्म पुग्न माननीय सदस्यहरुलाई समय आवश्यक भएको महसुस गरेको छु।’










