काठमाडौं। जोन्टा इन्टरनेशनल कन्भेन्सनमा जोन्टा क्लब काठमाडौंले प्रतिष्ठित ‘जोन्टा एक्सीलेन्स इन सर्भिस एन्ड एड्भोकेसी अवार्ड (२०२४-२०२६)’ प्राप्त गरेको छ।
महिला तथा बालिकाहरूविरुद्ध हुने अनलाइन र अफलाइन दुवै प्रकारका हिंसा रोकथामका लागि क्लबले गरेको उत्कृष्ट सामूहिक प्रयास र योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।
क्यानडाको भ्यान्कुभरमा हालै सम्पन्न भएको ६७औं कन्भेन्सनमा जोन्टा क्लब अफ काठमाडौंलाई यो अवार्ड दिइएको हो। सन् २०२४ देखि २०२६ सम्म क्लबकी अध्यक्ष रहेकी बीना राणाले यो अवार्ड ग्रहण गरिन्।
क्लबले यसलाई नेपालका लागि एक असाधारण र ऐतिहासिक उपलब्धी भनेको छ। विश्वभर रहेका १ हजार १०० जोन्टा क्लबहरुमध्येबाट प्रत्येक दुई वर्षमा उत्कृष्ट सेवा र पैरवी कार्य गर्ने ६ वटा क्लबहरुलाई यो अन्तर्राष्ट्रिय अवार्डका लागि छनोट गरिन्छ।
जोन्टा क्लब काठमाडौं लगातार दोस्रो पटक द्विवार्षिक अवधिमा यो अवार्ड जित्न सफल भएको हो।










