काठमाडौं। तनहुँको मार्कीचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।
नेपाल विद्युत प्राधिकरणले शनिबार दिउँसो ३ बजेदेखि मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको हो।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको उनको सचिवालयले बताएको छ। श्रेष्ठले प्रसारण लाइन सञ्चालनमा ल्याउन स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीयसँग सम्वाद गरेका थिए।
यो प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु भएसँगै अब चितवनबाट बुटवल हुँदै कोहलपुरसम्म बिजुली झ्याप-झ्याप जाने (ट्रिपिङ) समस्या धेरै हदसम्म समाधान हुने मन्त्री श्रेष्ठको दाबी छ।
‘अब क्षेत्रीय विद्युत् प्रसारण थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्नेछ। ट्रिपिङ समस्या न्यूनीकरणमा यो प्रसारण लाइनले महत्त्वपूर्ण योगदान पुर्याउनेछ,’ मन्त्री श्रेष्ठले भने।
अब यस क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाले उत्पादन गरेको सबै विद्युत् सहज रूपमा भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहयोग पुग्ने र कम क्षमतामा पावर हाउस सञ्चालन गर्नुपर्ने बाध्यता हट्ने मन्त्री श्रेष्ठको भनाइ छ।










