जितपछि पनि असन्तुष्ट इंग्ल्याण्डका प्रशिक्षक टुचेलले भने, ‘खेल अनावश्यक कठिन बन्यो’



बिजमाण्डू
२०८३ असार २८ गते ०६:१५ | Jul 12, 2026
जितपछि पनि असन्तुष्ट इंग्ल्याण्डका प्रशिक्षक टुचेलले भने, ‘खेल अनावश्यक कठिन बन्यो’
इङ्गल्याण्डका प्रशिक्षक टुचेल। File Photo: England Football


काठमाडौं। इङ्ग्ल्याण्डलाई सेमिफाइनल पुर्‍याएका प्रशिक्षक थोमस टुचेलले खेलपछि असन्तुष्टि पोखेका छन्। नर्वेमाथि अतिरिक्त समयमा २–१ गोलको कठिन जित निकाल्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगे पनि इंग्ल्यान्डका मुख्य प्रशिक्षक टुचेलले आफ्नो टोलीको प्रदर्शनलाई लिएर असन्तुष्टि पोखेका हुन्।

Tata
GBIME
Nepal Life

क्वार्टरफाइनलमा जुड बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विजयी बने पनि टुचेलले टोलीले आफ्नै गल्तीका कारण खेल अनावश्यक रूपमा कठिन बनाएको प्रतिक्रिया दिए।

‘हामी सेमिफाइनल पुग्यौँ। यो अद्भुत छ तर टिमको प्रदर्शनबाट भने म खुसी छैन,’ उनले खेलपछि आईटीभीसँग भने, ‘खेल्ने शैली, बल नियन्त्रण, प्राविधिक त्रुटि र खेलको गति सबै पक्षमा हामी कमजोर देखियौं। हामीले आफैंलाई निकै अप्ठ्यारो अवस्थामा पुर्‍यायौं। आज हामी भाग्यमानी भयौं।’

टुचेलले टोलीको समस्या मानसिकतामा नभई खेलको गुणस्तरमा रहेको बताए। ‘यो मानसिकताको कुरा होइन। खेलको गुणस्तरको कुरा हो। यदि उपाधि जित्ने हो भने अब हामीले अझ राम्रो फुटबल खेल्नैपर्छ,’ उनले भने।

उनले दोस्रो हाफ र अतिरिक्त समयमा मैदान प्रवेश गरेका खेलाडीहरूको पनि प्रशंसा गरे। रीस जेम्स, मोर्गन रोजर्स, एबेरेची एजे र डजेड स्पेन्सले खेलको लय परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

दुई गोल गर्दै इंग्ल्यान्डलाई सेमिफाइनल पुर्‍याएका मिडफिल्डर जुड बेलिङ्घमको उनले तारिफ गरे। ‘अब भन्न केही बाँकी छैन। उनले हरेक खेलमा आफू विश्वस्तरीय खेलाडी भएको प्रमाणित गरिरहेका छन्।’ उनले भने।

यता निर्णायक गोलकर्ता बेलिङ्घमले भने प्रशिक्षकको आलोचनाप्रति धेरै प्रतिक्रिया दिन चाहेनन्।

‘मैदानमा खेल्न निकै कठिन थियो। सबै खेलाडीले असाध्यै मेहनत गरेका छन्। मैदानमा आफ्नो सबै शक्ति लगाउने हाम्रा खेलाडीप्रति मेरो सम्मान र प्रशंसा छ,’ उनले भने।

इङ्ग्याण्डले अब सेमिफाइनलको तयारी थाल्नेछ। सेमिफाइनलमा इङ्ग्ल्याण्डले आजै हुने अर्जेन्टिना र स्वीट्जरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।