बेल्जियमलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा, फाइनल पुग्न हुनेछ फ्रान्ससँग प्रतिस्पर्धा



बिजमाण्डू
२०८३ असार २७ गते ०३:०० | Jul 11, 2026
बेल्जियमलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा, फाइनल पुग्न हुनेछ फ्रान्ससँग प्रतिस्पर्धा
बेल्जियमविरुद्ध गोलपछिको सेलिब्रेसन। Photo: FIFA


काठमाडौं। स्पेन फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ। मिकेल मेरिनोको ८८औँ मिनेटको निर्णायक गोलसँगै बेल्जियमलाई २–१ गोलले हराउँदै स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको हो।

Tata
GBIME
Nepal Life

लस एन्जलसमा आज सम्पन्न क्वार्टरफाइनलमा स्पेनले अधिकांश समय खेल नियन्त्रणमा राखे पनि जितका लागि अन्तिम क्षणसम्म संघर्ष गर्नुपर्‍यो।

स्पेनले ३०औँ मिनेटमा अग्रता लिएको थियो। लामिन यामाल र पेद्रो पोरोको सुन्दर संयोजनपछि पोरोको क्रसमा दानी ओल्मोको प्रहार बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवाले रोके पनि रिबाउन्डमा फाबियान रुइजले सहज गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाए।

पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा बेल्जियम खेलमा फर्कियो। टिमोथी कास्टान्येको उत्कृष्ट क्रसमा चार्ल्स डे केटेलारेले हेडमार्फत गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए। यो गोल स्पेनले यस विश्वकपमा खाएको पहिलो गोल पनि बन्यो।

दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे। स्पेनका यामाल, मिकेल ओयार्जाबाल र फेरान टोरेसले पटक-पटक बेल्जियमको रक्षापंक्तिमाथि दबाब बनाए भने बेल्जियमका जेरेमी डोकु र केभिन डे ब्रुइनले जवाफी आक्रमण गरे। दुवै गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमै राखेका थिए।

खेलको निर्णायक गोल भने ८८औँ मिनेटमा आयो। स्पेनका युवा डिफेन्डर पाउ कुबार्सीको प्रहार बेल्जियमका गोलकिपर सेन्ने लामेन्सले नियन्त्रण गर्न नसक्दा रिबाउन्ड बलमा वैकल्पिक खेलाडी मिकेल मेरिनोले नजिकबाट गोल गर्दै स्पेनलाई फेरि अग्रता दिलाए।

बाँकी समयमा बेल्जियमले रोमेलु लुकाकुलाई केन्द्रमा राखेर बराबरी गोलको प्रयास गरे पनि स्पेनको डिफेन्सले बलियो प्रदर्शन गरिरह्यो। इन्ज्युरी समयमा बेल्जियमले गोल फर्काउन नसक्दा स्पेनले २-१ गोलको जित पक्का गर्‍यो।

यस जितसँगै युरोपेली च्याम्पियन स्पेनले लगातार प्रभावशाली प्रदर्शनलाई कायम राख्दै विश्वकप उपाधितर्फ अर्को महत्वपूर्ण कदम चालेको छ। अर्कोतर्फ बेल्जियमको चुनौती भने अन्तिम आठमै समाप्त भएको छ। अर्थात सेमिफाइनलमा एम्बाप्पे भर्सेस यामालको प्रतिस्पर्धा हुनेछ।