काठमाडौं। नेपालले भारत ‘ए’ विरुद्ध टी-२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले भारत ‘ए’ टोलीलाई नेपाल ल्याउँदै मंसिरमा टी-२० सिरिज आयोजना गर्ने जनाएको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको टी–२० शृंखला आयोजना गर्ने क्यानका प्रवक्ता तथा सचिव पारस खड्काले जनाएका छन्।
क्यानका अनुसार खेल मंसिर २३, २५ र २७ गते हुनेछन्। तीनै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछन्।
शृंखला आयोजना गर्ने निर्णय स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्मेलनका क्रममा भएको बैठकबाट भएको क्यानले जनाएको छ। उक्त बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजीत साइकियाबीच छलफल भएको थियो। त्यस्तै, आईसीसीका अध्यक्ष जय शाहसँग पनि खड्का र चन्दले भेट गरे।
नेपाली टोली हाल भने क्रिकेट विश्वकप लिगको तयारीमा छ। नेदरल्याण्ड्स सिरिजका लागि नेपालबाट प्रस्थान गरिसकेको नेपालले जर्सीसँग तयारी गरेर सिरिज खेल्ने तयारी छ।











