काठमाडौं। आज फिफा विश्वकप २०२६ को सेमिफाइनल पुग्न दुई युरोपेली टोली आमनेसामने हुँदैछन्। दोस्रो क्वार्टरफाइनल खेलबाट स्पेन र बेल्जियम मध्ये एक टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउनेछन्। लस एन्जलसको सोफी स्टेडियममा हुने खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
स्पेन यस संस्करणमा उत्कृष्ट लयमा छ। समूह चरणदेखि अहिलेसम्म एक गोल पनि नखाई पाँचै खेल जितेको स्पेनले अन्तिम १६ मा पोर्चुगललाई १-० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो। प्रशिक्षक लुइस दे ला फुएन्तेको टोली बल नियन्त्रण, संगठित रक्षापङ्क्ति र तीव्र आक्रमणका कारण उपाधिको प्रमुख दाबेदार मानिएको छ।
स्पेनका लागि युवा स्टार लामिन यामाल र चार गोल गरिसकेका स्ट्राइकर मिकेल ओयारजाबाल मुख्य आशा हुन्। यामालले प्रतियोगितामा एक गोल मात्र गरे पनि उनको सिर्जनात्मक खेल र प्रभावशाली प्रदर्शनले टोलीलाई निरन्तर ऊर्जा दिएको छ।
यता बेल्जियमले भने कठिन बाटो पार गर्दै अन्तिम आठमा स्थान बनाएको हो। बेल्जियमको चर्चा अमेरिकाको खेलको दौरान धेरै भएको थियो। अमेरिकाले फिफामा हस्तक्षेप गर्दै आफ्ना खेलाडीको रेडकार्ड फिर्ता गराएपछि चौतर्फी आलोचना भयो। तर, बेल्जियमले अमेरिका र फिफाको पेलाहा निर्णयका बावजुत अन्तिम १६ मा आयोजक अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको थियो।
स्पेनका प्रशिक्षक दे ला फुएन्तेले बेल्जियमलाई प्रतियोगितामा आफ्नो टोलीले अहिलेसम्म सामना गरेको सबैभन्दा कठिन प्रतिस्पर्धि हुने बताएका छन्। उनले बेल्जियमको अनुभव, प्रतिस्पर्धी मानसिकता र आक्रामक शैलीका कारण खेल निकै चुनौतीपूर्ण हुने बताएका छन्।
यसअघि पहिलो क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। त्यसैले शुक्रबारको विजेताले उपाधि यात्रालाई निरन्तरता दिन सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।











