बिजुली ‘ट्रिपिङ’को समस्या बढेपछि ट्रान्सफर्मरको गुणस्तर जाँचिंदै, मन्त्रालयले बनायो छानबिन समिति



बिजमाण्डू
२०८३ असार २६ गते १६:३२ | Jul 10, 2026
बिजुली ‘ट्रिपिङ’को समस्या बढेपछि ट्रान्सफर्मरको गुणस्तर जाँचिंदै, मन्त्रालयले बनायो छानबिन समिति
विराजभक्त श्रेष्ठ


काठमाडौं। पछिल्लो समय देशभर बिजुली झ्याप-झ्याप जाने समस्या बढेपछि नेपाल विद्युत प्राधिकरणले यसअघि किनेको ट्रान्सफर्मरको गुणस्तरलाई लिएर छानबिन अगाडि बढाइएको छ।

Tata
GBIME
Nepal Life

बिजुली झ्याप-झ्याप जानुको मुख्य कारण प्राधिकरणले किनेको कपरबिनाको ट्रान्सफर्मर भएको उजुरी समेत परेपछि ऊर्जा मन्त्रालयले छानबिन अगाडि बढाएको हो।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले यस विषयमा सत्यतथ्य पत्ता लगाउन समिति गठन गरेका छन्। चार सदस्यीय समितिमा मन्त्रालयका सहसचिव सन्दिप कुमार देव संयोजक छन्।

‘पछिल्लो समय देशभर बत्ती झ्याप झ्याप जाने समस्या देखिएको छ। यस विषयमा हामीले छलफल गर्दै जाँदा प्राधिकरणको ट्रान्सफर्मरमा प्राविधिक समस्या रहेको गुनासो आयो। प्राधिकरणभित्रैबाट कपरबिनाको ट्रान्सफर्मर खरिद गरेकाले अहिले ट्रान्सफर्मरमा समस्या आएको भन्ने कुरा आयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘कपरबिनाको ट्रान्सफर्मर खरिद गरेर ठूलो घोटाला गरिएको र अहिले समस्या देखिएको उजुरी नै परेपछि समिति बनाएर छानबिन थालिएको हो।’

समितिले सुरुमा ट्रान्सफर्मरको ‘स्याम्पलिङ’ अध्ययन गर्नेछ। टोली फिल्डमा खटिइसकेको छ।

‘स्याम्पलिङ’ अध्ययनका क्रममा कैफियत भेटिए समितिले विस्तृत रुपमा छानबिन गर्ने स्रोतले बतायो। ‘टोलीले सुरुमा ट्रान्सफर्मर कपरबिनाको हो होइन स्याम्प्लिङ गरेर हेर्छ। पुष्टि भयो भने विस्तृत रुपमा छानबिन हुन्छ,’ स्रोतले भन्यो।

समितिलाई ट्रान्सफर्मरको गुणस्तर सुनिश्चित गर्ने सम्बन्धमा पनि सुझाव पेस गर्न भनिएको छ।