लगातार तेस्रोपटक फ्रान्स सेमिफाइनलमा, पेनाल्टी मिस गरेका एम्बाप्पेसँगै डेम्बेलेको पनि गोल



बिजमाण्डू
२०८३ असार २६ गते ०३:५९ | Jul 10, 2026
लगातार तेस्रोपटक फ्रान्स सेमिफाइनलमा, पेनाल्टी मिस गरेका एम्बाप्पेसँगै डेम्बेलेको पनि गोल
मोरक्को विरुद्ध गोल गरेपछि किलियन एम्बाप्पे। Photo: FIFA


काठमाडौं। मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइलमा पुगेको छ। पहिलो हाफमा कप्तान किलियन एम्बाप्पेले पेनाल्टी खेर फाले पनि दोस्रो हाफमा शानदार गोल गर्दै फ्रान्सलाई फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुर्‍याउन सफल भए।

Tata
GBIME
Nepal Life

बोस्टनमा सम्पन्न क्वार्टरफाइनलमा फ्रान्सले अफ्रिकी जायन्ट मोरक्कोलाई २-० ले हराउँदै लगातार तेस्रो विश्वकपको अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

पहिलो हाफभर फ्रान्सले खेलमा स्पष्ट दबाब बनाए पनि गोल गर्न सकेन। २५औं मिनेटमा एम्बाप्पेमाथि फाउल भएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। तर भिएआर जाँचका कारण केही समय ढिला भएको पेनाल्टीमा मोरक्कोका गोलरक्षक यासिन बोनोले एम्बाप्पेको प्रहार सहजै बचाउँदै टोलीलाई खेलमा कायम राखे।

त्यसपछि लुकास डिन्येको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्कियो। पहिलो हाफमा फ्रान्सले १३ प्रहार गर्दै उच्च दबाब बनाए पनि मोरक्कोले कुनै प्रभावशाली अवसर सिर्जना गर्न सकेन।

दोस्रो हाफमा भने एम्बाप्पेले आफ्नो गल्ती सच्याए। ६०औं मिनेटमा डिजिरे डुएको पासमा उनले बक्सभित्रबाट उत्कृष्ट घुमाउरो प्रहार गर्दै फ्रान्सलाई अग्रता दिलाए। विश्वकपमा उनको यो २०औं गोल पनि बन्यो।

फ्रान्सले ६६औं मिनेटमा अग्रता दोब्बर बनायो। एम्बाप्पेले डिफेन्डरहरूलाई आफूतर्फ तानेपछि खाली स्थानमा रहेका ओसमान डेम्बेलेले बक्सको किनाराबाट गरेको प्रहार बोनोले रोक्न नसक्दा बल जालीमा पुगेको थियो।

त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि प्रभावकारी अवसर सिर्जना गर्न सकेन। अजेदिन उनाहीको टाढाबाट आएको प्रहार माइक मेन्यानले सहजै बचाए भने एल आयनाउईको हेडर साइड नेटिङमा सीमित रह्यो।

फ्रान्सले अन्तिम समयसम्म खेल नियन्त्रणमा राख्दै सहज जित निकाल्यो। पहिलो हाफमा पेनाल्टी बचाएर आशा जगाएका बोनो दोस्रो हाफमा भने फ्रान्सको तीव्र आक्रमण रोक्न असफल भए।

यो जितसँगै दुई पटकको विश्वकप विजेता फ्रान्स लगातार तेस्रो संस्करणमा सेमिफाइनल पुगेको छ। यसअघि सन् २०१८ मा विश्वकप विजेता बनेको फ्रान्स २०२२ को उपविजेता हो। प्रशिक्षक डिडिए डेसाम्प्सको नेतृत्वमा फ्रान्सले पुनः उपाधि यात्रालाई निरन्तरता दिएको छ भने मोरक्कोको यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ।

मोरक्कोले यस विश्वकपमा ब्राजिलसँग बराबरी, नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आफ्नो प्रभाव देखाएको थियो।