जनकपुरका गुठी जग्गाको अतिक्रमण हटाइने, प्रतिभाले गठन गरिन् ९ सदस्यीय समिति



बिजमाण्डू
२०८३ असार २४ गते १२:२१ | Jul 8, 2026
जनकपुरका गुठी जग्गाको अतिक्रमण हटाइने, प्रतिभाले गठन गरिन् ९ सदस्यीय समिति


काठमाडौं। धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको अतिक्रमण हटाउन ९ सदस्यीय कार्यान्वयन समिति गठन गरिएको छ।

Tata
GBIME
Nepal Life

भूमि व्यवस्था मन्त्रालयले बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्र रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिरलगायत प्रमुख मठ-मन्दिर र गुठी जग्गाको संरक्षणका लागि विगतमा तयार भएका प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन गरेको हो।

गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति धनुषाका जिल्ला समन्वय अधिकारी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, भूमि प्रशासन कार्यालय धनुषाका प्रमुख भूमि प्रशासन अधिकृत, नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत, गुठी संस्थानको धनुषाका कार्यालय प्रमुखलगायत सदस्य छन्।

समितिले उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२, सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग, २०७६ को प्रतिवेदन र गुठी जग्गासम्बन्धी अन्य प्रतिवेदनमा उल्लेख भएका सिफारिस कार्यान्वयन गर्ने मन्त्रालयले जनाएको छ।

समितिले अतिक्रमण हटाउन १५ दिनको समय दिनेछ। तोकिएको अवधिभित्र नहटाए स्थानीय प्रशासन तथा सम्बन्धित स्थानीय तहको समन्वयमा समितिले १५ दिनभित्र अतिक्रमण हटाउने मन्त्रालयले जनाएको छ।