काठमाडौं। फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा पुगेको छ। प्रि-क्वाटरफाइनल अन्तर्गत आज सम्पन्न खेलमा पाराग्वेलाई १-० गोलको साँघुरो जित निकालेको फ्रान्स क्वाटरफाइनलमा पुगेको हो।
क्वाटरफाइनलमा फ्रान्सले अफ्रिकी जायन्ट मोरोक्कोसँग भिड्नेछ। मोरोक्कोले आजै क्यानडालाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो।
आज फ्रान्सको जितमा निर्णायक गोल कप्तान किलियन एम्बाप्पेको रह्यो।
फिलाडेल्फियामा सम्पन्न खेलमा बलमाथि स्पष्ट नियन्त्रण कायम गरेको फ्रान्सले सुरुआतदेखि नै लगातार दबाब सिर्जना गरे पनि पाराग्वेको बलियो डिफेन्स र गोलकिपर ओरलान्डो गिलको उत्कृष्ट प्रदर्शनका कारण लामो समयसम्म गोल गर्न सकेन।
खेलको ६८औँ मिनेटमा डिजिरे डुएलाई पेनाल्टी क्षेत्रमा डिएगो गोमेजले लडाएपछि भीएआरले फ्रान्सलाई पेनाल्टी दिएको थियो। यो अवसरमा एम्बाप्पेले शान्त र संयमित प्रहार गर्दै टोलीलाई अग्रता दिलाए। यही गोल खेलको निर्णायक बन्यो।
गोल खाएपछि पाराग्वेले बराबरीको प्रयास गरे पनि फ्रान्सको डिफेन्स तोड्नै सकेन। उल्टै इन्जुरी समयमा एम्बाप्पेले अर्को उत्कृष्ट अवसर पाए पनि गिलले लगातार दुई शानदार बचाउ गर्दै पाराग्वेलाई ठूलो अन्तरको हारबाट जोगाए।
पाराग्वेले जर्मनीलाई स्तब्ध पार्दै अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। तर फ्रान्सविरुद्ध भने उसले आक्रमणमा प्रभाव जमाउन सकेन र लक्ष्यतर्फ उल्लेखनीय प्रहारसमेत गर्न असफल रह्यो।
योसँगै एम्बाप्पेले गोल्डन बुटको होडमा फेरि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई भेट्टाएका छन्। यो संस्करणमा मेस्सी र एम्बाप्पेको गोल्डन बुटका लागि चर्को प्रतिस्पर्धा छ। दुबैले समान ७ गोल गरेका छन्। एम्बाप्पेले दुई एसिस्ट पनि गरेकाले अगाडि छन्। उनीहरुलाई इङ्ग्ल्याण्डका ह्यारी केन र नर्वेका अर्लिङ हाल्याण्डले पछ्याइरहेका छन्।











