क्यानडालाई हराउँदै मोरोक्को पुग्यो विश्वकपको क्वाटरफाइनलमा, ओउनाहीको दोहोरो गोल



बिजमाण्डू
२०८३ असार २१ गते ०३:१३ | Jul 5, 2026
क्यानडालाई हराउँदै मोरोक्को पुग्यो विश्वकपको क्वाटरफाइनलमा, ओउनाहीको दोहोरो गोल
मोरोक्कोको गोल सेलिब्रेसन। Photo: FIFA


काठमाडौ। मोरक्को फिफा विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। सहआयोजक क्यानडालाई ३-० गोलले हराउँदै मोरोक्कोले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान बनाएको हो।

Tata
GBIME
Nepal Life

अफ्रिकी टोली मोरक्को लगातार दोस्रो पटक विश्वकपको अन्तिम आठमा पुगेको हो भने सहआयोजक क्यानडा अन्तिम १६ बाटै बाहिरिएको पहिलो आयोजक राष्ट्र बनेको छ। अरु दुई सहआयोजक अमेरिका र मेक्सिकोले भने प्रि-क्वाटरफाइनलको खेल खेल्नै बाँकी छ। यसअघि कतार विश्वकपमा पनि मोरोक्कोले ‘हेभिवेट’ टोलीहरुलाई निराश बनाउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।

ह्युस्टन स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलमा दोस्रो हाफमा मोरक्को पूर्ण रूपमा हाबी बन्यो। ५०औँ मिनेटमा कप्तान अशरफ हाकिमीको चलाखीपूर्ण फ्रिकिक पासमा अज्दिन ओउनाहीले बक्सको किनाराबाट उत्कृष्ट प्रहार गर्दै मोरक्कोलाई अग्रता दिलाए।

त्यसपछि ८२औँ मिनेटमा ब्राहिम डियाजको पासमा ओउनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा डियाजकै अर्को उत्कृष्ट पासमा वैकल्पिक खेलाडी सौफियान रहिमीले गोल गर्दै मोरक्कोको ३-० गोलको जित सुनिश्चित गरे।

पहिलो हाफमा भने खेलको नियन्त्रण क्यानडासँग थियो। जोनाथन डेभिड र टानी ओलुवासेयीले पाएका अवसरमा गोलरक्षक यासिन बुनौ बाधक बने। विशेषगरी ११औँ मिनेटमा ओलुवासेयीको प्रहारमा बुनौले खुट्टाले गरेको शानदार बचाउले मोरक्कोलाई सुरुआती झट्काबाट जोगाएको थियो।

पहिलो हाफभर मोरक्कोले एउटा पनि प्रभावकारी अवसर सिर्जना गर्न सकेको थिएन। टोलीको आक्रमण सम्हालेका इस्माइल साइबारी २२औँ मिनेटमै चोटका कारण मैदान छाड्न बाध्य भएका थिए।

अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा फ्रान्स र पाराग्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।