काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र बनाइदिएको छ।
महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक विकासलाई प्रवर्धन गर्न भन्दै महासंघले आफ्नो मधेश प्रदेश समिति, वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज महानगर लगायतसँग मिलेर वीरगञ्ज महानगर-८ मा बाल उद्यान तथा शिशु स्याहार केन्द्र बनाइदिएको हो।
महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले शुक्रबार एक समारोहबीच वडा कार्यालयलाई शिशु स्याहार केन्द्र हस्तान्तरण गरेका छन्।
उनले आर्थिक गतिविधि र रोजगारीमा महिलाको सहभागिता बढाउन शिशु स्याहार केन्द्रले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बालबालिकाको सुरक्षित, व्यवस्थित तथा गुणस्तरीय हेरचाहको व्यवस्था भएपछि महिलाहरू उद्योग, व्यापार, सेवा, स्वरोजगार तथा अन्य आयमूलक गतिविधिमा निर्धक्क रूपमा सहभागी हुन सक्ने उनको भनाइ छ।
‘यो केन्द्र केवल एउटा भौतिक संरचना मात्र होइन, महिलाको आर्थिक स्वतन्त्रताको ढोका हो। यसले महिलालाई आफ्ना
बालबालिकालाई सुरक्षित वातावरणमा राखेर रोजगारी, स्वरोजगार तथा उद्यमशीलतामा सक्रिय हुन सहज वातावरण सिर्जना गर्नेछ,’ उपाध्यक्ष पाण्डेले भने।
यस केन्द्रबाट विशेषगरी औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत, दैनिक ज्यालादारी गर्ने, साना व्यवसायी, स्वरोजगार तथा रोजगारीको खोजीमा रहेका महिला प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।










