काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत चैत १३ गते सरकार बनाएयता चार जना सचिवले अवकाश पाए।
कृषि सेवाका दीपक कुमार खरालले चैत १५ गते अवकाश पाएकामा नेपाल इन्जिनियरिङ सेवाका रामआधार साहले वैशाख १०, चिरञ्जिवी चटौतले असार १५ र प्रमिलादेवी बज्राचार्य १७ गते निजामती सेवाबाट बिदा भए। यही असारमा मुख्यसचिव सुमनराज अर्यालसहित चार जनाले अवकाश पाउँदैछन्।
निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटीले असार २१ गते तथा प्रधानमन्त्री कार्यालयका कृष्णहरि पुष्करले २४ र खगेन्द्र नेपालले २८ गते अवकाश पाउँदैछन्। मुख्यसचिव अर्याल ५८ वर्ष उमेरका कारण २५ गते बिदा हुँदैछन्।
सचिवहरुले एकपछि अर्को गरी अवकाश पाइरहँदा सरकारले रिक्त पदमा बढुवा गरेको छैन। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएयता एक जना सहसचिवले पनि सचिवमा बढुवा पाएका छैनन्। गत पुस ११ गते कामु सचिवको जिम्मेवारी पाएका कमलप्रसाद भट्टराईको अहिलेसम्म बढुवा भएको छैन।
त्यसो त सचिवमा बढुवा रोकिएको गत पुस २९ देखि हो। पुस २८ गते ध्रुवकुमार चौहान सचिवमा बढुवा भएका थिए। त्यसयता बढुवा रोकिएको हो। जबकि पुस २९ देखि नयाँ सरकार बन्नुअघिको अवधिमा नै चार जना सचिवले अवकाश पाएका थिए।
भरतमणि सुवेदीले पुस २९, रामप्रसाद घिमिरेले फागुन १०, हरि लम्सालले फागुन २४ र केशव कुमार शर्माले चैत ९ गते सचिवबाट अवकाश पाएका थिए।
सरकारले रिक्त पद खाली हुनेबित्तिकै बढुवा गरेर थुपार्ने भन्दा सचिवको संख्या नै घटाउने नीति लिएको छ। विगतमा विभिन्न ६ वटा मन्त्रालयमा दुई जनाका दरले सचिव राखिएकामा सरकारले जेठ तेस्रो साता एक मन्त्रालयमा एकभन्दा बढी सचिव नखटाउने निर्णय गरेको छ। जसका कारण विशिष्ट श्रेणीका कर्मचारीको संख्या अहिले ६३ मा झरेको छ।
विभिन्न ४ निकायमा सचिवको पद रिक्त रहँदा ६ जना सचिव अतिरिक्त समूहमा छन्।
विगतमा उच्च प्रशासकले नेतासँगको पहुँचका आधारमा आफ्ना लागि दरबन्दी सिर्जना गर्न लगाउँदा निजामती सेवामा विशिष्ट श्रेणीका कर्मचारीको संख्या ७६ सम्म पुगेको थियो।









