काठमाडौं। नेदरल्याण्ड्स फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ। आज अन्तिम ३२ को खेलमा मोरोक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै नेदरल्याण्ड्स प्रतियोगिताबाट बाहिरिएको हो। अघिल्लो संस्करणमा पनि सेमिफाइनल पुगेको मोरोक्को भने हेभिवेटमाथिको जितसँगै प्रि-क्वाटरफाइनलमा पुगेको छ।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा रोकिएको खेलमा अतिरिक्त समयपछि पनि गोल हुन सकेन। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। जहाँ मोरक्कोका इस्माइल साइबारी, सौफियान राहिमी र चेम्सदिन ताल्बीले गोल गरे। नेदरल्यान्ड्सका लागि ट्युन कुपमाइनर्स र वाउट वेघोर्स्टले मात्र गोल गर्न सके। जस्टिन क्लुइभर्टको प्रहार पोस्टमा लाग्यो भने क्विन्टेन टिम्बरको प्रहार गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरेपछि पेनाल्टी सुटआउटमा ३-२ ले पछि पर्दै नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरियो।
खेलको ७२औँ मिनेटमा कोडी गाक्पोले क्रिसेन्सियो समरभिलको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। खेल जित्ने अवस्थामा पुगेको नेदरल्यान्ड्सलाई इन्जुरी समयको पहिलो मिनेटमा मोरक्कोले झट्का दियो। विकल्प खेलाडी ताल्बीको सटीक क्रसमा इस्सा डियोपले हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।
अतिरिक्त समयमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल हुन सकेन। विशेषगरी मोरक्कोका राहिमीले पाएको उत्कृष्ट अवसरलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेर्ब्रुगेनले शानदार बचाउ गर्दै खेललाई पेनाल्टीसम्म पुर्याएका थिए।
पेनाल्टी सुटआउटमा भने मोरक्कोका गोलरक्षक बोनो नायक बने। उनले टिम्बरको निर्णायक प्रहार रोक्दै टोलीलाई ऐतिहासिक जित दिलाए।
यस जितसँगै मोरक्कोले अन्तिम १६ मा सह-आयोजक क्यानडासँग भेट पक्का गरेको छ। प्रतियोगिताको उपाधि दाबेदारमध्ये एक मानिएको नेदरल्यान्ड्स भने अप्रत्याशित रूपमा नकआउट चरणबाटै बाहिरिएको छ।
आजै बिहान सम्पन्न अर्को खेलमा हेभिवेट जर्मनी पाराग्वेसँग पेनाल्टी सुटआउटमै पराजित हुँदै बाहिरिएको थियो भने गएराति ब्राजिलले जापानलाई २-१ गोलले हराउँदै प्रि क्वाटरफाइनल पुगेको थियो।











