जर्मनी विश्वकपबाट बाहिरियो, पेनाल्टी सुटआउटमा ऐतिहासिक जितसँगै पाराग्वे अन्तिम १६ मा



बिजमाण्डू
२०८३ असार १६ गते ०५:३१ | Jun 30, 2026
जर्मनी विश्वकपबाट बाहिरियो, पेनाल्टी सुटआउटमा ऐतिहासिक जितसँगै पाराग्वे अन्तिम १६ मा
जितपछि पाराग्वेको सेलिब्रेसन। Photo: FIFA

काठमाडौं। पाराग्वे फिफा विश्वकपको प्रि-क्वाटरफाइनलमा पुगेको छ। फिफा विश्वकप अन्तर्गत आज सम्पन्न अन्तिम ३२ को खेलमा प्रतियोगिताको प्रबल दाबेदारमध्ये एक मानिएको युरोपेली जायन्ट जर्मनीलाई हराउदै पाराग्वे प्रतियोगिताको अन्तिम १६ मा पुगेको हो।

Tata
GBIME
Nepal Life

आज सम्पन्नको निर्धारित समय र अतिरिक्त समय १-१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा पाराग्वेले ४-३ गोलको जित निकाल्दै अन्तिम १६ मा पुग्दा जर्मनी अन्तिम ३२ मै स्तब्ध हुँदै बाहिरियो।

म्यासाचुसेट्सको फक्सबरोस्थित बोस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफभर जर्मनीले ७९ प्रतिशत बल नियन्त्रण गरे पनि पाराग्वेको अनुशासित डिफेन्स तोड्न सकेन। बरु ४२औँ मिनेटमा जुलियो एन्सिसोले मातियास गालार्साको उत्कृष्ट क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै पाराग्वेलाई अप्रत्याशित अग्रता दिलाए।

दोस्रो हाफको ५४औँ मिनेटमा फ्लोरियन भिर्ट्जको आकर्षक क्रसमा काई हाभर्ट्जले हेडमार्फत गोल गर्दै जर्मनीलाई १-१ को बराबरीमा फर्काए। त्यसपछि जर्मनीले लगातार दबाब बनाए पनि पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे।

त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि भीएआरले गोलकिपरमाथि फाउल भएको ठहर गर्दै उक्त गोल रद्द गरेको थियो। त्यसपछि थपिएको अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

सुटआउटमा जर्मनीको पहिलो प्रहारमै हाभर्ट्जको प्रहार नै असफल रहे। समग्रमा जर्मनीले तीन पेनाल्टी गुमाउँदा पाराग्वेले दुई प्रहार मात्र चुकायो र ४–३ को जित निकाल्दै ऐतिहासिक सफलता हात पार्‍यो।