विराटनगर। प्रधानमन्त्री कार्यालयको आश्वासनपछि असार १ देखि बन्द रहेका पूर्वका चिया उद्योग खुलेका छन्।
प्रधानमन्त्री कार्यालयले चिया निर्यातको समस्या समाधान गर्न कूटनीतिक पहल गर्ने आश्वासन दिएपछि उद्योगले बिहीबारबाट पुन: उत्पादन सुरु गरेको नेपाल चिया उत्पादक संघले बताएको छ।
संघका उपाध्यक्ष शिवकुमार गुप्ताले बिहीबार अपराह्न विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्री कार्यालयको आश्वासपछि उद्योग खोलेको उल्लेख गरेका छन्।
‘सरकारको यस कदमप्रति आश्वस्त हुँदै चिया बगानमा किसानको हरियो चियापत्ति हुर्कंदै गएको संवेदनशील अवस्था र चिया मजदूरको दैनिक गुजारामा परेको प्रत्यक्ष असरलाई मध्यनजर राख्तै उद्योगहरू बन्द गर्न नहुने ठहर संघले गरेको छ। अतः सरकारको सकारात्मक पहललाई सम्मान गर्दै बन्द रहेका चिया उद्योग खुला गरिएका हुन्,’ उपाध्यक्ष गुप्ताले भने।
चिया निर्यातमा देखिएको समस्या अध्ययन गरेर प्रतिवेदन पेस गर्न सरकारले कार्यदल बनाएको छ। उद्योगीहरू कार्यदलसँग निरन्तर छलफलमा छन्।
भारतीय चिया बोर्डले जारी गरेको नयाँ मापदण्डका कारण नेपाली चियाको निर्यात ठप्प भएपछि झापा र इलामका चिया उद्योग उद्योग बन्द भएका थिए। संघका अनुसार झापामा साना ठूला गरी ३० र इलाममा ६५ वटा चिया उद्योग छन्।











