रास्वपाभित्रको गुटबन्दीबारे उद्घाटनमै चेतावनी, शाह र लामिछानेको आलोचना सुन्न चाहन्नन् प्रतिनिधि



प्रकाश भण्डारी
२०८३ असार ७ गते २१:०७ | Jun 21, 2026
रास्वपाभित्रको गुटबन्दीबारे उद्घाटनमै चेतावनी, शाह र लामिछानेको आलोचना सुन्न चाहन्नन् प्रतिनिधि

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह दुवैले पार्टीभित्रको गुटबन्दीको प्रसंगलाई जोडतोडले उठाएका छन्।

Tata
GBIME
Nepal Life

सम्बोधनका क्रममा दुवैले महाधिवेशनमा नेता तथा महाधिवेशन प्रतिनिधिलाई गुटबन्दीमा नलाग्न निर्देशन दिए। नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता पुराना पार्टीमा हुने गरेको गुटबन्दी रास्वपामा पनि सुरु भएको संकेत लामिछाने र शाहले गरेका हुन्। 

‘राम्रो नेता बन्न, राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्छ, कुनै एउटा समूहको मायाले हुँदैन। त्यसैले समूह बनाउने पछाडि नलाग्नुहोला। त्यस्तो बिउ अहिले नरोप्नु कि भोलि बिचबाट फाँड्नुपरोस्,’ शाहले भने।

प्रधानमन्त्री बालेन्द्र शाह

रास्वपामा पदाधिकारी र केन्द्रीय सदस्य बन्न नेताहरूबिच चर्को प्रतिस्पर्धा भएपछि शाहले पदका लागि गुटबन्दी नगर्न भनेका हुन्। मन्त्री बन्नका लागि पनि रास्वपामा नेताहरूले समूहगत रूपमा लामिछानेलाई दबाब दिने गरेका थिए। यस्तो दबाब नदिन पनि लामिछानेले आग्रह गरे। 

 ‘चिन्ता लिनुपर्दैन। यो गठनबन्धको सरकार होइन। एकल पार्टीको सरकार हो। एकल पार्टीको सरकार हुँदा हरेक मन्त्री प्रधानमन्त्री, हरेक सांसद, हरेक पदाधिकारी, हरेक केन्द्रीय सदस्य र हरेक समर्थक प्रधानमन्त्री हो। म पदाधिकारी भएको भए यस्तो गर्थे भन्नुहुन्छ भने त्यो योजना ल्याउनुस् हामी गर्छौं,’ उनले भने।

लामिछानेले पनि पार्टीमा पदका लागि बार्गेनिङ भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले रास्वपाको जनमतलाई कसैले पनि तत्काल लडाउन नसक्ने टिप्पणी गरे। ‘त्याग भनेको अरूले गर्दासम्मा मात्रै ठिक हो। आफूलाई फेरि नभई हुन्न। राजनीति गर्नेले अहिलेको पछि परिणाम खोज्ने होइन,’ उनले भने।

लामिछानेले आफू र शाहको सम्बन्धमा दरार ल्याउन पनि प्रयासहरू भइरहेको बताए। चुनावअघिको बालेनसँग आफूले गरेको ७ बुँदे सम्झौता पालना हुने लामिछानेको भनाइ थियो।

सभापति रवि लामिछाने

गगन र प्रदीप ज्ञवालीको भाषणमा विरोध

रास्वपा महाधिवेशनको उद्घाटनमा सहभागी रास्वपाका नेता/कार्यकर्ताले लामिछाने र शाहको आलोचनालाई भने फिटिक्कै मन पराएनन्। नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र रास्वपाको आलोचना गरेको प्रसंगको विरोधमा चर्को गरी रास्वपाका नेता/कार्यकर्ताले ताली बजाएका थिए।

ज्ञवालीले सरकारले १०० बुँदे कार्यसूची पुरा नगरेको बताएपछि विरोध भएको थियो। शाह नेतृत्वको सरकारलाई रास्वपाले स्वेच्छाचारी बन्न रोक्नुपर्ने ज्ञवालीको टिप्पणी थियो। ‘रास्वपाको हातमा जनताले लोकतन्त्र सुरक्षित होस् भन्न चाहन्छु। काम गर्न तीव्र हुटहुटी देखिएको छ। गाडीमा एक्सिलेटेरसँगै ब्रेक राखिएको हुन्छ। ब्रेक र एक्सिलेटेरको सन्तुलन भएन भने एक्सिलेटरमात्र थिच्दा दुर्घटना हुन सक्छ,’ ज्ञवालीले भने। 

प्रदीप ज्ञवाली

थापाले पनि सरकार र रास्वपाप्रति गरेको प्रश्नलाई सहभागीले मन पराएनन्। उल्टै उनीहरूले थापाले बोलेको नसुन्ने भन्दै विरोध गरे। ‘पार्टी भित्रको गलत कार्यको विरोध गर्न नसक्नेले सुशासन ल्याउन सकिँदैन । तपाईंहरूले सुशासनका लागि सफलता प्राप्त गर्नै पर्छ। 

हामीले आफ्नै नेताहरूलाई पनि गल्ती गर्दा प्रश्न उठाउनु पर्छ, हामीले दाइ र बा बनाएर गल्ती गरियो, आफ्नै नेतालाई पनि प्रश्न गर्नुपर्दछ। नत्र सुशासन आउँदैन,’ थापाको उक्त अभिव्यक्तिपछि रास्वपाका कार्यकर्ताले झर्को मानेका थिए।

गगन थापा

देखिएनन् जुलुस

रास्वपाका महाधिवेशन पुराना दलको महाधिवेशन भन्दा केही भिन्न देखियो। आफ्नो दलको पक्षमा नारा लगाएर ठाउँ ठाउँमा जुलुस निकाल्ने अभ्यास छ। तर रास्वपाको महाधिवेशन उद्घाटनमा त्यस्तो नारा लगाएको दृश्य देखिएन। कार्यकर्ताले लामिछाने र शाहको उपस्थितिका बेला हुटिङ गर्ने र पक्षमा हाइ-हाइ गरेका थिए। केही ठाउँमा झाकी निकालिएको थियो। 

मोही वितरण

पुराना पार्टीका महाधिवेशनमा नदेखिएको तर रास्वपाका कार्यक्रममा देखिएको अर्को दृश्य हो – मोही वितरण। डीडीसीले शाहको फोटो नै राखेर महाधिवेशन स्थलमा स्टल राखेर मोही बेचिरहेको थियो भने अरू केही व्यवसायीले गाडीमा ल्याएर मोही निःशुल्क बाँडिरहेका थिए।

कार्यकर्तामा त्रास पार्टी विभाजनको

महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधि शाह र लामिछानेको सम्बन्ध कस्तो रहला भन्ने चर्चा गर्नमा केन्द्रित थिए। केही सहभागी लामिछानेले सहयोग गर्ने र अहिलेकै सरकार पाँच वर्षसम्म टिक्ने चर्चा गरिरहेका थिए भने केहीले महाधिवेशनपछि अप्ठेरो हुने बताइरहेका थिए।

महाधिवेशनमा उपस्थित कार्यकर्ता र समर्थक

‘पहिला हामी रुखको छाहरीमा बस्यौं। त्यहाँ पनि राम्रो भएन। अहिले पनि यता आइएको छ। यहाँ पनि के हुने हो? सरकार कति टिक्ने हो। सबैलाई चाहिएको चुनावमा टिकट हो। त्यो के हुने हो,’ उद्घाटन सत्र सकिएपछि एक प्रतिनिधिले भने।

महाधिवेशनमा असन्तुष्टि नमिले पार्टी विभाजन हुनेसक्नेबारे पनि रास्वपाका कार्यकर्ता पंक्तिमा त्रास देखिएको छ। सरकार सञ्चालनमा कमजोरी हुन थालेको र त्यसैले रास्वपालाई विभाजन गर्ने कार्यकर्तामाझ चर्चा भइरहेको थियो।