अमेरिका लगातार दोस्रो खेलमा पनि विजयी, अष्ट्रेलियामाथि रोमाञ्चक जितसँगै पुग्यो नकआउट चरणमा



बिजमाण्डू
२०८३ असार ६ गते ०३:५६ | Jun 20, 2026
अमेरिका लगातार दोस्रो खेलमा पनि विजयी, अष्ट्रेलियामाथि रोमाञ्चक जितसँगै पुग्यो नकआउट चरणमा
अमेरिकी खेलाडीको सेलिब्रेसन। Photo: FIFA

काठमाडौं। अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेको छ। समूह ‘डी’ अन्तर्गत सिएटलमा आज भएको खेलमा अमेरिकाले अष्ट्रेलियालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो।

Tata
GBIME
Nepal Life

पहिलो खेलमा पाराग्वेलाई ४-१ ले हराएको अमेरिकाले अष्ट्रेलियामाथिको जितसँगै ६ अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो। यसअघि विश्वकपको अर्को सहआयोजक मेक्सिकोले समूह ‘ए’मा लगातार दुई जित निकाल्दै राउण्ड अफ ३२ मा पुग्ने प्रतियोगिताको पहिलो टोली बनेको थियो। अर्कोतर्फ पहिलो खेलमा टर्किएलाई हराएको अष्ट्रेलियाले भने नकआउट पुग्न अन्तिम खेलको नतिजा कुर्नुपर्ने छ।

अमेरिकाले खेलको ११औं मिनेटमै अग्रता लिएको थियो। फरवार्ड फोलारिन बालोगुनले बायाँ विंगबाट गरेको तीव्र आक्रमणलाई रोक्ने प्रयासमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आफ्नै पोस्टमा गोल गरेपछि अमेरिका १-० ले अघि बढ्यो।

पहिलो गोलपछि पनि अमेरिकाले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो। अष्ट्रेलिया अधिकांश समय रक्षात्मक रणनीतिमा सीमित रहँदा अमेरिकाले लगातार दबाब सिर्जना गरिरह्यो।

पहिलो हाफको इन्जुरी समयमा अमेरिकाले दोस्रो गोल थप्यो। फ्रिकिकबाट सुरु भएको आक्रमणमा सर्जिनो डेस्टको प्रहार डिफ्लेक्ट भएपछि बल हावामा उछिट्टियो र एलेक्स फ्रिम्यानले हेडमार्फत जाली चुमाए। सुरुमा अफसाइडको संकेत गरिएको उक्त गोललाई भीएआरले वैध ठहराए पछि अमेरिका २-० ले अघि बढ्यो।

दोस्रो हाफमा अष्ट्रेलियाले केही खेलाडी परिवर्तन गर्दै आक्रामक बन्ने प्रयास गर्यो। नेस्टोरी इरानकुन्डा, कोनर मेटकाफ र ज्याक्सन इर्भिन मैदान प्रवेश गरे पनि टोलीले स्पष्ट अवसर सिर्जना गर्न सकेन।

६२औं मिनेटमा क्रिस्टियन भोल्पाटोले पाएको राम्रो अवसर खेर फालेपछि अष्ट्रेलियाको पुनरागमनको सम्भावना झन् कमजोर बन्यो। खेलको अन्त्यतिर अष्ट्रेलियाले केही क्रस र कर्नरमार्फत दबाब सिर्जना गरे पनि अमेरिकी रक्षापंक्तिले सहज रूपमा त्यसलाई विफल पार्यो।

अमेरिकाले दोस्रो हाफमा खासै आक्रमण नगरे पनि सुरुआती अग्रता जोगाउन सफल रह्यो। अष्ट्रेलियाले भने समूह चरणको अन्तिम खेलमा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।  नकआउट चरणमा पुग्न उसलाई यो खेलमा जित आवश्यक पर्नेछ।

यही समूहको अर्को खेलमा आजै पाराग्वे र टर्कीए पनि भिड्नेछन्।