काठमाडौं। २४ वर्षीया सम्झना काफ्लेसँग थुप्रै पुराना कपडा थिए। पुनः प्रयोगमा नआएका कपडालाई कसरी व्यवस्थापन गर्ने भन्ने सोचिरहेका बेला उनलाई एउटा ‘आइडिया’ फुर्यो – थ्रिफ्ट स्टोरको। अर्थात्, पहिले प्रयोग भइसकेका तर अझै प्रयोगयोग्य (सेकेन्ड ह्यान्ड) कपडाको व्यापार गर्ने।
स्नातक अध्ययनका क्रममा उनले केही समय कर्पोरेट क्षेत्रको सेल्स विभागमा काम गरिन्। त्यही समयमा साथीसँग मिलेर थ्रिफ्ट व्यवसाय सुरु गरे पनि अफिसको लामो समय र व्यक्तिगत सपना पूरा गर्न समय नपाउने अवस्थाले उनलाई निराश बनाएको थियो।
‘बिहानदेखि बेलुकासम्म अफिसमा खटिँदा आफ्नै लागि समय नै हुँदैनथ्यो,’ उनी सम्झन्छिन्। अन्ततः उनले जागिर छाडेर आफ्नै व्यवसायमा पूर्ण समय दिने निर्णय गरिन्।
उनले ‘स्वोर्नी फिट्स’ नामको इन्स्टाग्राम पेज खोलेर त्यहीमार्फत कपडा बिक्री गर्न थालिन्। १५ हजार रुपैयाँको प्रारम्भिक लगानीबाट सुरु भएको उनको व्यवसायिक यात्राका सुरुवाती दिन भने सहज थिएनन्।
‘पहिला–पहिला एउटा अर्डर आउन पनि निकै गाह्रो हुन्थ्यो। सामान स्टक हुँदै जान्थ्यो र नयाँ सामान ल्याउनुपर्ने दबाब पनि हुन्थ्यो,’ उनी भन्छिन्।
तर निरन्तरता र धैर्यताले विस्तारै उनको व्यवसायलाई गति दियो। अहिले उनी आफैं होलसेल बजारमा सामान छनोट गर्ने, भिडियो सामग्री तयार गर्ने, प्याकिङ गर्ने र कुरियरसम्म पुर्याउने काम सम्हाल्छिन्।
उनका अनुसार सामाजिक सञ्जालमा देखिने सफलता जति सजिलो देखिन्छ, वास्तविक व्यवसाय त्यति नै चुनौतीपूर्ण हुन्छ।
‘अरूको व्यापार देख्दा सजिलो लाग्छ। तर आफैं सुरु गरेपछि मात्र यसको संघर्ष थाहा हुन्छ,’ उनी भन्छिन्।
हाल प्यानमा दर्ता भएर औपचारिक रूपमा व्यापार सञ्चालन गरिरहेकी सम्झनाको लक्ष्य निकट भविष्यमै आफ्नै ‘फिजिकल स्टोर’ खोल्ने रहेको छ।
पाँच हजारबाट सुरु भएको गहना व्यवसाय
हेटौंडाकी अस्मिता ढुंगाना पनि डिजिटल उद्यमशीलताको बाटोमा छिन्। उनले ‘ग्लोरी गर्ल्स’ ब्रान्डमार्फत गहनाको व्यवसाय सञ्चालन गरिरहेकी छन्।
कोभिड–१९ महामारीका बेला सुरु भएको उनको व्यवसाय पाँच हजार रुपैयाँको लगानीबाट सुरु भएको थियो। सुरुमा स्टेनलेस स्टिलका गहनाबाट व्यापार थालेकी अस्मिताले अहिले पञ्चधातुका गहनासमेत उत्पादन तथा बिक्री गरिरहेकी छन्।
विगत तीन वर्षदेखि व्यवसायमा सक्रिय अस्मिताका लागि परिवारको साथ सबैभन्दा ठूलो शक्ति बनेको छ। घरको जिम्मेवारी, बच्चाको हेरचाह र व्यवसायलाई सँगसँगै अघि बढाउन परिवार र श्रीमानको सहयोगले सहज बनाएको उनी बताउँछिन्।
बजारमा नक्कली पञ्चधातुका गहनाको बिगबिगी बढिरहेका बेला उनी पारदर्शितालाई आफ्नो मुख्य आधार बनाएको बताउँछिन्। ग्राहकलाई उत्पादनको गुणस्तर, प्रयोग विधि र सम्भावित एलर्जीबारे स्पष्ट जानकारी दिएर मात्र बिक्री गर्ने उनको भनाइ छ।
‘सामाजिक सञ्जालमा देखिएजस्तो अनलाइन व्यापार सजिलो छैन,’ उनी भन्छिन्, ‘कुरियरको ढिलाइ, ग्राहकको अपेक्षा र स्क्यामरहरूको गतिविधिले व्यवसायमा चुनौती थपिरहेका हुन्छन्।’
यी सबै चुनौतीका बीच उनले मासिक खर्च कटाएर करिब डेढ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको बताउँछिन्।
छोरीको हौसलाले बनायो व्यवसायी
रुपन्देहीको मणिग्राममा बसोबास गर्ने सरिता पौडेल पनि पछिल्लो समय डिजिटल प्रविधि अंगालेर उद्यमी बनेकी छन्। भान्सामा विभिन्न परिकार बनाउन रुचाउने सरिताले कोरोना महामारीपछि आफ्नो रुचिलाई व्यवसायमा रूपान्तरण गर्ने निर्णय गरिन्। अचार, सुत्केरी मसला र प्रोटिन लड्डु उत्पादन गरेर उनले घरमै बसेर व्यवसाय सुरु गरेकी हुन्।
‘मलाई भान्सामा काम गर्न निकै मनपर्छ। त्यही रुचिलाई व्यवसाय बनाउने सोच आयो,’ उनी भन्छिन्।
सुरुमा सार्वजनिक रूपमा बोल्नसमेत डर लाग्ने उनलाई उनकी १२ वर्षीया छोरीले निरन्तर हौसला दिएकी थिइन्।
‘आज म यहाँसम्म आइपुग्नुमा छोरीको विश्वास र साथ सबैभन्दा ठूलो कारण हो,’ उनी भावुक हुँदै सुनाउँछिन्।
३० हजार रुपैयाँको लगानीबाट सुरु भएको उनको व्यवसायले अहिले राम्रो गति लिइरहेको छ। ग्राहकहरूको पुनः अर्डर नै आफ्नो सफलताको सबैभन्दा ठूलो आधार भएको उनी बताउँछिन्।
टिकटक र अन्य सामाजिक सञ्जालमार्फत प्रचार गर्दै उनले देशका विभिन्न ठाउँमा आफ्ना उत्पादन पुर्याउन सफल भएकी छन्। अब व्यवस्थित प्याकेजिङ र ब्रान्डिङमार्फत आफ्नो व्यवसायलाई अझ ठूलो स्तरमा पुर्याउने उनको लक्ष्य छ।
सम्झना, अस्मिता र सरिता तीन फरक क्षेत्रका उद्यमी हुन्। तर उनीहरूलाई जोड्ने साझा पक्ष भनेको प्रविधिको प्रयोग, आत्मनिर्भर बन्ने चाहना र निरन्तर मेहनत हो।
आज हजारौं नेपाली महिलाहरू सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको माध्यमबाट आफ्ना सीप र उत्पादनलाई बजारसम्म पुर्याइरहेका छन्। यसले उनीहरूलाई आर्थिक रूपमा सक्षम मात्र बनाएको छैन, समाजमा नयाँ पहिचान स्थापित गर्ने अवसर पनि दिएको छ।
भान्साबाट सुरु भएको सानो प्रयास अहिले सयौं घरसम्म पुगिरहेको छ। यस्तै व्यवसायमा अहिले कैयौं महिला लागिरहेका छन्। घरमै अचारलगायतका सामग्री बनाएर विदेशसम्म पठाइन्छ।
अहिले टिकटक र इन्स्टाग्राम थोरै लगानीमा सफल व्यवसाय सञ्चालन गर्न सकिने प्लेटफर्म बनेका छन्। तर त्यसको अर्थ यसमा सबै सफल हुन सक्छन् भन्ने पनि होइन।
सरिता भन्छिन्, ‘ग्राहकको विश्वास जित्नुपर्छ। सामानको गुणस्तरले पनि व्यवसायमा सफल बनाउँछ।’
अनलाइन व्यापारको विस्तारसँगै नेपाल क्यान मुभ र उपायजस्ता भरपर्दा लजिस्टिक्स सेवा यस्ता व्यवसायका महत्वपूर्ण आधार बनेका छन्। पछिल्लो समय धेरै कुरियर कम्पनीहरू भए पनि नेपाल क्यान मुभ र उपायको सेवा निकै राम्रो रहेको उनीहरू बताउँछन्।
नेपाल क्यान मुभजस्ता सेवा प्रदायकले देशभरका साना तथा ठूला उद्यमीलाई डिजिटल माध्यमबाट व्यवसाय विस्तार गर्न सहयोग पुर्याउँदै आएका छन्।
नेपालका ७७ वटै जिल्लामा आफ्नो पहुँच विस्तार गरिसकेको नेपाल क्यान मुभ कम्पनीले हाल २ हजार ५०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ।
विशेषगरी सामाजिक सञ्जालमार्फत व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरूका लागि कम्पनीको सेवा उपयोगी सावित भएको छ। सहज डेलिभरी नेटवर्क र देशव्यापी पहुँचका कारण महिलाहरूले आफ्ना उत्पादन दुर्गम क्षेत्रसम्म पुर्याउन सकेको कम्पनीको भनाइ छ।
महिला उद्यमशीलताको बढ्दो यात्रामा यस्ता लजिस्टिक्स साझेदारहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। नेपाल क्यान मुभले मात्रै ५०० भन्दा बढी महिला उद्यमीलाई सेवा दिँदै आएको छ।
त्यस्तै, पठाओ पार्सललगायतका कम्पनीबाट पनि सहज रूपमा सेवा उपलब्ध हुँदा महिला व्यवसायीलाई सामान डेलिभरी गर्न थप सहज बन्दै गएको छ।
महिला उद्यमीहरूको संख्या बढ्दै जाँदा भरपर्दो लजिस्टिक्स साझेदारका रूपमा ‘उपाय’ पनि एक महत्वपूर्ण कम्पनी बनेको छ। विशेषगरी इ–कमर्स र अनलाइन व्यवसाय सञ्चालन गर्ने महिला व्यवसायीहरूका लागि उपायले नेपालका विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको छ।
विगत सात वर्षदेखि सञ्चालनमा रहेको उपायले हाल नेपालका ४ हजारभन्दा बढी स्थानमा आफ्नो डेलिभरी सेवा पुर्याइरहेको छ। केवल कुरियर सेवा मात्र नभई, उपायले लजिस्टिक्स र यातायात क्षेत्रका समग्र सेवाहरू प्रदान गर्दै आएको कम्पनीकी मार्केटिङ म्यानेजर मनिका थापा मगर बताउँछिन्।
उपायका २५ हजारभन्दा बढी ग्राहक रहेका छन्, जसमध्ये ४० प्रतिशत महिला उद्यमी रहेको उनी बताउँछिन्। महिलाहरूको बढ्दो सहभागिता र उनीहरूको व्यावसायिक आवश्यकतालाई बुझेर सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ।
कम्पनीले काठमाडौं उपत्यकाभित्र सेवा शुल्क १०० रुपैयाँबाट सुरु गरेको छ भने उपत्यका बाहिर स्थानअनुसार अधिकतम २४० देखि २६० रुपैयाँसम्ममा सेवा उपलब्ध गराउँदै आएको छ।









