आयात प्रक्रियामा शंका गर्दै सशस्त्रले रोकेका इभी सबै छाडिए, कैफियत नभएको निष्कर्ष



बिजमाण्डू
२०८३ असार २ गते १०:१७ | Jun 16, 2026
आयात प्रक्रियामा शंका गर्दै सशस्त्रले रोकेका इभी सबै छाडिए, कैफियत नभएको निष्कर्ष

मुस्ताङ। बजेटमा करका दर हेरफेरका सूचना चुहाएर आयात गरेको शंकामा मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका चिनियाँ विद्युतीय गाडीहरुलाई छाडेको छ। जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका गाडीहरु आइतबार साँझदेखि फुकुवा गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको हो।

Tata
GBIME
Nepal Life

मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बीवाइडी कम्पनीका ७७५ गाडी नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ वटा गाडी मुस्ताङ भन्सार कार्यालय नेचुङबाट भन्सार जाँचपास भएका थिए। कोरला नाकाबाट भित्रिएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने शंकामा सशस्त्रले बाटैमा रोकेको थियो।

ती गाडीको आयातमा कैफियत भए नभएको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखा प्रमुख रहेका निर्देशक भूपालराज शाक्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो। छानबिनको टोलीले गत जेठ २१ मा कास्की, पर्वत र मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गाडीको स्थलगत अनुमगन गरी कागजात हेरेको थियो।

उक्त समितिको प्रारम्भिक प्रतिवेदनमा कैफियत फेला नपरेको निष्कर्ष छ। यसअघि सशस्त्रले गत दुई सातादेखि कास्कीको हेम्जामा ९८ र पर्वतको कुश्मा १७ वटा इभी नियन्त्रणमा लिएको थियो। यसैगरी मुस्ताङको कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ र कोरलानाकामा ३९४ इभी सशस्त्रले बाटैमा रोकेको थियो।

त्यसरी नियन्त्रणमा सवारीसाधनहरुलाई आइतबार साँझ सम्बन्धित कम्पनीको जिम्मा लगाइएको गुल्मका डीएसपी भेषराज गिरीले बताए। सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा लिइएका सबै विद्युतीय सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरिएको उको भनाइ छ।

जोमसोम बसपार्कमा राखिएका २६६ इभीमध्ये आइतबार र सोमबार गरी २२३ वटा गन्तव्यतर्फ प्रस्थान गरेको जनाइएको छ। जोमसोम बसपार्कमा अहिले ४३ वटा मात्रै बाँकी छन्। रासस