चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ-मलेखु सडकखण्डका ४ पुल अगामी असारमा संचालनमा ल्याउने गरी काम गरिएको छ। ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन्।
नागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र संचालनमा ल्याउन लागिएको हो। उनका अनुसार ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लाष्टर, रङरोगन, ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी छन्।
उनले भने, ‘समग्रमा ९० प्रतिशतभन्दा बढी काम भएका छन्। हामी असारभित्र पुल संचालनको तयारीमा छौँ।’
सोही खण्डको हुग्दी र चरौँदी खोलाको पुल निर्माणाधीन छ। हुग्दीको ३० प्रतिशत र चरौँदीको ५० प्रतिशत काम भएको उनले बताए। ती पुलको भुइँ र पिल्लरको काम भइरहेको छ। सो सडक खण्डमा अलकत्राको अभावमा रोकिएको कालोपत्रको काम गर्ने तयारी गरिएको छ।
मिश्रका अनुसार निर्माण कम्पनीले एक/दुई दिनमा अलकत्रा आउने र कालोपत्र गर्न सक्ने बताएको छ। उनका अनुसार सबबेस राखिसकेको करिब २ किलोमिटर सडकमा बेस राखेर कालोपत्र गर्ने तयारी गरिएको छ। यो बन्दै गर्दा थप ठाउँ कालोपत्रको तयारी गर्न सकिने उनले जानकारी दिए।
अलकत्राको मूल्य बढेर आउन छोडेपछि यहाँ कालोपत्र काम रोकिएको थियो। ढल निर्माण, रेलिङ लगायतका काम भने भइरहेको उनले जानकारी दिए।
सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ। सो खण्डमा ३८.८६ किलोमिटर सडक पर्दछ। यस खण्डमा २.२ किमी छ लेनको बन्नेछ। जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ। ७.२ किमी सडक चार लेन हुनेछ। चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने छ।
उकालो-ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने छ। ‘क्लाइम्बिङ’ मार्ग २.३ किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ।
निर्माण कम्पनीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो। सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा, पुल निर्माणलगायत काम बाँकी छ।
यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो। काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ।
गत पुसमा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ। अरू म्याद थपका लागि प्रक्रियामा छ। रासस










