वीरगंजका मेयर राजेशमान सिंह निलम्बित, गलत लिखतबाट नागरिकता दिलाएपछि मुद्दा



बिजमाण्डू
२०८३ जेठ २५ गते १६:५३ | Jun 8, 2026
वीरगंजका मेयर राजेशमान सिंह निलम्बित, गलत लिखतबाट नागरिकता दिलाएपछि मुद्दा

काठमाडौं। वीरगंज महानगरका मेयर राजेशमान सिंह निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेसँगै मेयर सिंह निलम्बनमा परेका हुन्।

Tata
GBIME
Nepal Life

गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गराई भ्रष्टाचार गरेको भन्दै अख्तियारले मेयर सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मेयर सिंह गत साता पक्राउ परेकामा धरौटीमा छुटेका थिए।

सिंहमाथि अर्काकी छोरीलाई आफ्नो छोरी भनी कर्मचारीसँगको मिलेमतोमा गलत लिखत तयार पारेर नागरिकता दिलाएको आरोप छ। सिंहले २०७५ साउन १३ गते नागरिकता दिलाएका थिए। अख्तियारका अनुसार यसका लागि सरकारी कागजात सच्याएको, केरमेट गरेको, हेरफेर गरेको र नष्ट गरेको पाइएको छ।

सिंहले गलत लिखत तयार गरेर नागरिकता दिलाएको विषयमा छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिमा संयोजकको रुपमा काम गरेका उपसचिव पुस्कर राना र सदस्यका रुपमा काम गरेका शाखा अधिकृत पर्शुराम पोखरेलले समेत साथ दिएको अख्तियारले बताएको छ।

अख्तियारले सिंहका अलावा तत्कालीन उपसचिव पुस्कर, शाखा अधिकृत पर्शुराम, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल, सिन्धुपाल्चोकको इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज-३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराईविरुद्ध मुद्दा दायर गरेको छ।