काठमाडौं। सिटिजन्स बैंकले काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा वृक्षारोपण गरेको छ। बैंकले शनिबार आयोजित वृक्षारोपणका क्रममा २५० विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको जनाएको छ।
बैंकका अनुसार विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लाइमेट एक्सन’लाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न वृक्षारोपण गरिएको हो।
सो क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा कार्यालय १ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारी सहभागी थिए।
उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले रोपिएका प्रत्येक बिरुवाले भोलिका पुस्तालाई स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै, बैंकले देशव्यापी रूपमा अन्य प्रदेशहरूमा पनि वृक्षारोपण गरेको छ। जसमा कोशीमा २०० वटा, मधेशमा २५०, गण्डकीमा २००, लुम्बिनीमा २००, कर्णालीमा २०० र सुदूरपश्चिममा २०० गरी कुल १५०० वटा बिरुवा रोपिएको बताइएको छ।










