मनिला (फिलिपिन्स)। फिलिपिन्सको दक्षिणी भागमा आएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन्। सोमबार बिहानको भूकम्पले भवनहरू, पूर्वाधार संरचनामा ठूलो क्षति गरेको छ भने तटीय क्षेत्रमा करिब १ मिटर (३ फिट) सम्मको सुनामी तरंग पनि देखिएको छ।
स्थानीय अधिकारीहरूका अनुसार भूकम्पको केन्द्र समुन्द्रमा रहेको जनरल सान्तोस सहरबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा थियो। यो सहर ७ लाखभन्दा बढी जनसंख्या भएको र टुना (माछा) प्रशोधन तथा व्यापारका लागि महत्त्वपूर्ण केन्द्र मानिन्छ। भूकम्पपछि केही साना भवनहरू आंशिक रूपमा भत्किएका छन्। धेरै संरचनामा धक्का लागेको छ।
सरकारी निकायले कम्तीमा तीन जनाको मृत्यु जनरल सान्तोस क्षेत्रमा भएको पुष्टि गरेको छ भने दाभाओ ओरिएन्टल प्रान्तमा थप एक जनाको मृत्यु भएको छ। घाइतेको संख्या २०० नाघेको छ। आपतकालीन सेवाका अधिकारीहरूका अनुसार बिहानको झण्डै ७:३७ बजे भूकम्प गएलगत्तै मानिसहरू घर र भवनबाट बाहिर भागेका थिए।
भूकम्पको झट्काले जनरल सान्तोस अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ भने १७ वटा घरेलु उडानहरू रद्द गरिएका छन्। केही विद्यालयमा बिहानको प्रार्थनाका बेला परेकाले धेरै विद्यार्थी घाइते भएका छन्, केही डरले बेहोस पनि भएका छन्।
फिलिपिन्सको भूकम्प तथा ज्वालामुखी विज्ञान संस्थानका अनुसार भूकम्प कोटाबाटो ट्रेन्चमा १० किलोमिटर गहिराइमा गएको हो। अमेरिकी भूगर्भीय सर्वेक्षणले यसपछि ६.५ म्याग्निच्युडसम्मका परकम्पहरू पनि मापन गरेको जनाएको छ।
भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले सुरुमा सुनामीको खतरा रहेको बताए पनि करिब पाँच घण्टापछि ठूलो खतरा टरेको घोषणा गरेको छ। यद्यपि केही समय समुद्री सतहमा उतारचढाव हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।
भूकम्पपछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जोखिमयुक्त तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च स्थानमा जान आग्रह गरेका छन्। साथै इन्डोनेसिया र मलेसियाले पनि आफ्ना तटीय क्षेत्रका लागि सुनामी चेतावनी जारी गरेका छन्।
इन्डोनेसियाको सुलावेसी टापु नजिक करिब ८३ सेन्टिमिटरको सुनामी तरंग मापन गरिएको छ। पपुवा न्यू गिनी र पश्चिमी प्रशान्त क्षेत्रमा पनि सानो मात्रामा समुद्री सतह परिवर्तन हुन सक्ने चेतावनी दिइएको छ भने हवाईमा भने कुनै खतरा नरहेको बताइएको छ।
फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले भूकम्प र ज्वालामुखी विस्फोटको उच्च जोखिममा पर्ने देश हो। यहाँ वार्षिक करिब २० वटा टाइफुन आँधीसमेत आउने भएकाले देशलाई विश्वकै बढी प्राकृतिक विपद् प्रभावित राष्ट्रमध्ये एक मानिन्छ। (एपी)










