एभरेष्ट कलरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला, जेठ २७ सम्म आवेदन दिन सकिने

बिजमाण्डू
२०८३ जेठ २२ गते ०९:३४ | Jun 5, 2026
एभरेष्ट कलरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला,  जेठ २७ सम्म आवेदन दिन सकिने


काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर हुने ७ करोड ९० लाख रुपैयाँ मूल्यको ७ लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो।

यसमध्ये ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ। साथै, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीका लागि सुरक्षित गरि वितरण गरिएको कम्पनीले जनाएको छ।

अब सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ लाख ५५ हजार ७०० कित्ता सेयर बिक्रीमा ल्याएको हो।

आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन अवधि जेठ २७ गतेसम्म कायम रहनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।