काठमाडौं। अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षका लागि गत वैशाख १५ गते आवेदन खुलायो। विगत केही वर्षदेखि अत्यन्तै संवेदनशील रहेको सेबोन अध्यक्षका लागि चार दर्जनभन्दा बढीले आवेदन दिएको जानकारी अनौपचारिक रुपमा आयो।
अर्थ मन्त्रालयले अध्यक्षमा आवेदन दिनेको नाम सार्वजनिक नै गरेन। एकैपटक अर्थ मन्त्रालयको वेबसाइटमार्फत जेठ ५ गते ४ जनाको नाम सर्टलिस्टमा राखेर सार्वजनिक गरियो।
सेबोन अध्यक्षका लागि आवेदन दिने व्यक्ति कस्ता थिए? उनीहरुमध्ये चार जना मात्रै कसरी छानिए भन्ने यक्ष प्रश्नको उत्तर अहिलेसम्म पनि आउन सकेको छैन। यही छनोट प्रणालीका कारण पनि सेबोन अध्यक्ष नियुक्तिमा डेडलक बनेको दाबी गरिँदै आएको छ।
सेबोन मात्रै होइन, अर्थ अन्तर्गतकै नेपाल बीमा प्राधिकरणको हालत पनि यस्तै छ। मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका कर्मचारीका अनुसार प्राधिकरणको अध्यक्षका लागि ५० जनाले आवेदन दिएका छन्। अर्थजस्तो पारदर्शिता अवलम्बन गर्न सिकाउने मन्त्रालय नै अहिले गलत दिशातर्फ उन्मुख भएको देखिन्छ।
जबकि पर्यटन, सञ्चार, शिक्षा लगायत मन्त्रालय अन्तर्गतका नियुक्तिका लागि गरिएका विज्ञापन अनुसार आवेदन दिनेको नाम सार्वजनिक गरिएको छ। पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका प्रतिस्पर्धी सबैको नाम सार्वजनिक गरेको छ।
यस्तै सूचना तथा संचार मन्त्रालय अन्तर्गत नेपाल दूरसंचार प्राधिकरण, गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्थाको प्रमुख नियुक्तिका लागि आवेदन दिनेको सूची सार्वजनिक गरेको छ।
‘नियुक्तिमै बिलम्ब’
सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले ४ जनाको अन्तर्वार्ता लिएर जेठ ११ गते ३ जनाको नाम सिफारिस गरेको थियो।
उच्च स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सेबोन अध्यक्षको नियुक्तिमा प्रक्रिया मिलेन भनेका थिए। जेठ ११ गते दिउँसो ३.३० बजेका लागि मन्त्रिपरिषद् बैठक थियो।
अर्थ मन्त्रालयले त्यही दिन दिउँसो २ बजेर २७ मिनेट जाँदा तीन जनाको नाम मुख्यसचिव सुमन अर्यालकहाँ पठाएको स्रोतले दाबी गरेको थियो। तर, मुख्यसचिव अर्यालले भने सेबोन अध्यक्षका लागि अहिलेसम्म कुनै प्रस्ताव नआएको दाबी गरे।
‘मकहाँ अहिलेसम्म प्रस्ताव आएको छैन। यो विषयमा लाइन मिनिस्ट्रीलाई नै सोध्नुपर्छ,’ उनले बिजमाण्डूसँग भने।
स्रोतका अनुसार सेबोन अध्यक्ष नियुक्तिका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)भित्र पनि छलफल भएको स्रोतले बतायो। तर, सेबोन अध्यक्षको नियुक्ति कसरी टुंग्याउने भन्ने खुलेको छैन।
एकाथरीले आवेदन दिएका ४७ जनाकै पुनर्मूल्यांकन हुने र अर्काथरीले सिफारिस भएका तीन जनामध्येबाट एक जना नियुक्त हुने दाबी गर्दै आएका छन्। ‘प्रधानमन्त्रीले प्रक्रिया मिलेन भनेपछि आवेदन दिने सबैको हेर्ने भनेर अनुमान लगाएको पनि हुनसक्छ,’ अर्थका एक अधिकारीले भने, ‘तर मेरो बुझाइमा सिफारिस भएका तीन जनामध्येबाटै एक जना सेबोन अध्यक्ष बन्नेछन्।’
स्रोतका अनुसार सेबोन अध्यक्ष नियुक्तिमा राजनीतिक कनेक्सनका साथै विगतमा दीपक भट्टसँग जोडिएको छ/छैन भन्ने विषयलाई पनि नजिकबाट हेरिएको छ। ‘सेबोनमा आफ्ना मान्छेलाई अध्यक्ष बनाएर राज्य दोहन गर्ने काम भट्टबाट भएको थियो। त्यो बेलामा सघाएका व्यक्ति हो/होइन भनेर हेर्ने समेत काम भएको छ,’ स्रोतले भन्यो, ‘त्यसमा जोडिएका भए उनीहरु सेबोन अध्यक्ष हुँदैनन्।’
सेबोनमा अध्यक्षको पद डेढ महिनादेखि रिक्त छ। यसअघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएका थिए। नयाँ अध्यक्ष नियुक्त नहुँदा सेबोनमा आइपीओ अनुमति दिनेदेखि नीतिगत निर्णय गर्ने काम ठप्प भएको छ।











