काठमाडौं। सरकारले सेयर कारोबारबापत नाफामा लाग्ने पुँजीगत लाभकर बढाएको छ। सरकारले सेयर होल्डिङ अवधिका आधारमा पुँजीगत लाभरको सीमा बढाएको हो।
लगानीकर्ताले १ वर्षभन्दा कम अवधिमा सेयर किनबेचबाट प्राप्त गर्ने नाफामा अब १० प्रतिशत कर तिर्नुपर्ने भएको छ। हालसम्म एक वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गरेर नाफा आर्जन गर्नेहरुले ७.५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत एक वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर पनि बढाएका छन्। हालसम्म ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताले आगामी साउनदेखि ७.५ प्रतिशत तिर्नुपर्ने भएको छ।
सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर बढाए पनि अन्तिम हुने घोषणा गरेको छ। यसअघि यस्तो घोषणा नहुँदा लगानीकर्ता त्रसित थिए।
सरकारले बजेटमार्फत पुँजीगत लाभकर बढाए पनि अन्तिम हुने घोषणा गरेकाले सकारात्मक प्रभाव पार्ने विश्लेषकहरु बताउँछन्।
‘हामीले बजारमा पुँजीगत लाभरको सीमा बरु बढाउ तर अन्तिम हो भनेर घोषणा गर भनेर सरकारलाई भन्दै आएका थियौं,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले भने, ‘सरकारले बजेटमार्फत लाभकर वृद्धि गरेको छ। तर, अन्तिम हुने घोषणा पनि गरेकाले यसले बजारमा सकारात्मक प्रभाव नै पार्छ।’









