काठमाडौं । सिजी होल्डिङ्सअन्तर्गत संचालन भइरहेका होटल तथा रिसोर्टहरु अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर संचालन हुने भएको छ।
बिहीबार ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सिजी होल्डिङ्स अन्तर्गतका सबै होटल र रिसाोर्ट अब सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र रहेर संचालन हुने जानकारी दिएका हुन्।
चौधरीका अनुसार सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी, नगरकोटमा रहेको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ। साथै, आगामी दिनमा संचालन हुने होटल तथा रिसोर्टलाई पनि यही अन्तर्गत रहनेछ।
कम्पनीका अनुसार पुलचोकस्थित क्राउन प्लाजा विसं २०८३ भित्रै संचालनमा आउनेछ। होटलको व्यवस्थापन ग्लोबल कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी)ले गर्नेछ। सोल्टी होटलको व्यवस्थापन छाडेको करिब ६ वर्षपछि आईएचजी सिजी होल्डिङमार्फत नेपाल आउन लागेको हो।
उक्त होटलमा १७५ कोठा हुनेछन् भने रुफटपसहित विभिन्न रेष्टुरेन्टको पनि सुविधा उपलब्ध हुनेछ। होटलमा ६ वटा हल हुनेछन् भने सबैभन्दा ठूलो हल पाँच हजार वर्ग फिटको हुनेछ। होटलको चौथो तलादेखि रुमहरु सुरु हुनेछन् भने होटलबाट काठमाडौं उपत्यकाको दृश्य अवलोकन गर्न सकिनेछ।
सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गतको अर्को रिसोर्ट हो नगरकोटको भंगेरी दरबार रिसोर्ट। आठ वर्षअघि निर्माण सुरु भइ गत बैशाखदेखि संचालनमा आएको लक्जरी रिसोर्ट भंगेरी दरबारको झल्को दिने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ। चन्द्र शमशेरले नगरकोटमा निर्माण गरेको भंगेरी दरबारको नामबाट रिसोर्ट निर्माण गरिएको हो। होटलमा ५१ वटा कोठा छन् ।
पर्यटकलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले अत्याधुनिक सुविधा उपलब्ध गराइएको र रिसोर्टबाट सगरमाथालगायतका हिमाल र सूर्योदय अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारीलाई पनि समेटेको छ । अन्तर्राष्ट्रिय चेन हस्पिटालिटी लेमन ट्रिको व्यवस्थापनमा संचालन भइरहेको यो वाइल्ड लाइफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमामा अवस्थित छ। ६ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्ट जंगल थिममा ३२ वटा प्राइभेट भिल्ला निर्माण गरिएको छ।
कम्पनीका अनुसार जिप सफारी क्यानोइङ, जंगल वाक, भिलेज वाक, थारु सांस्कृतिक नृत्यलगायतका गतिविधि यहाँ संचालनमा छन्। कर्पोरेट इभेन्ट र डेस्टिनेसन वेडिङका लागि पनि रिसोर्ट उपयुक्त गन्तव्यका रुपमा विकास भइरहेको जनाइएको छ।
त्यस्तै, ललितपुरको पुलचोकमा संचालनमा रहेको द प्लाजा पनि सिजी होटेल्स एण्ड रिसोर्टको छाता भित्र संचालनमा ल्याइएको छ। द प्लाजामा कूल १२ हजार वर्गफिटको ठूलो हलमा थिएटर सेटअपमा एकैसाथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिने जनाइएको छ।
यसैगरी काठमाडौंको बुढानिलकण्ठस्थित मेराकी वेलनेस रिट्रिट संचालनमा छ। काठमाडौं उपत्यकाको नजिक वेलनेसलाई प्राथमिकता दिएर सञ्चालनमा आएको यो रिसोर्टले पनि जंगलभित्रै आवासको अनुभूति दिने कम्पनीको भनाइ छ।











