काठमाडौं। सहसचिव चक्र बुढा राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा व्यापारीलाई धम्क्याएर पैसा असुल्न खोज्ने बिचौलिया उपेन्द्र शाही प्रहरी फन्दामा परेका छन्।
२०८१ असारमा महानिर्देशककै मोबाइल नम्बरबाट करोडौं राजस्वको आंकडा देखाउँदै व्यवसायीलाई विभागमा बोलाउने शाही अहिले भने सचिवलाई धम्क्याएको आरोपमा पक्राउ परेका हुन्। त्यो बेलामा गम्भीर आरोप लागेका शाही र महानिर्देशक बुढामाथि सामान्य सोधपुछ पनि भएको थिएन।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शाहीलाई सोमबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएको हो। विभिन्न व्यक्तिलाई त्रास देखाएको जानकारी आएपछि शाहीलाई नियन्त्रणमा लिएको परिसरका एसपी पवन भट्टराईले बताए।
‘विभिन्न व्यक्तिलाई त्रासमा पारेको भन्ने उजुरी आएपछि नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,’ एसपी भट्टराईले भने।
स्रोतका अनुसार शाहीले बहालवाला सचिवलाई ट्र्यापमा पारेर आफ्नो अनुकूल निर्णय गराउन धम्की दिएका थिए। उनले सिंहदरबारभित्रै पुगेर सचिवलाई मन्त्रालयबाट बाहिर आउन धम्की दिएका थिए।
उनले बाहिर नआए आफूसँग भिडियोदेखि च्याटसम्म सुरक्षित रहेको र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने धम्की दिएका थिए। प्रहरी उच्च स्रोतका अनुसार शाही पछ्याउँदै सचिवको घरसम्म पुगेका थिए।
ती सचिवले आफू शाहीको प्रस्तावका आधारमा सरुवा नभएको र च्याटमा त्यस्तो संवेदनशील विषय केही नरहेको मन्त्रालयमा बताएका थिए। त्यसपछि मन्त्रीले नै सचिवलाई अनावश्यक रुपमा दबाब दिने व्यक्तिका बारेमा प्रहरीलाई जानकारी गराउन भनेका थिए।
सचिवले प्रहरीलाई खबर गरेपछि शाही पक्राउ परेका हुन्। ‘हामीले हेर्दा र बुझ्दा सचिवलाई ट्र्यापमा पारेर आफू अनुकूल निर्णय गराउन खोजेको देखिएको छ। सचिवको खासै ठूलो समस्या अहिलेसम्म भेटिएको छैन,’ प्रहरी स्रोतले बिजमाण्डूसँग भन्यो, ‘शाहीले विगतदेखि नै सत्ता निकट रहेर बिचौलियाको काम गर्दै आएको देखिएको छ। यी सचिवले अस्वीकार गर्दा धम्की दिएको देखिन्छ।’
स्रोतका अनुसार सत्तामा रहेकासँग निकट सम्बन्ध बनाएर उच्च तहका कर्मचारीको सरुवामा शाहीले सेटिङ गर्दै आएका थिए। उनले सुरुमा कर्मचारीलाई आकर्षक मन्त्रालयमा सरुवा गर्ने भन्दै प्रस्ताव गर्थे। शाहीले च्याटमार्फत प्रस्ताव गर्ने र त्यसलाई सुरक्षित रुपमा राखेर कर्मचारीलाई ट्र्यापमा पार्दै आएको प्रहरी स्रोतले बतायो।
कार्की सत्तामा पनि शाहीको रजगज
३७ वर्षीय शाही सिंहदरबारभित्र सेटिङ गरेर आफ्नो अनुकूल निर्णय गराउन माहिर भइसकेका थिए।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका नेतासँग निकट रहेका उनले कर्मचारीको सरुवादेखि ठेक्कापट्टासम्म आफू अनुकूल गराउने गरेका थिए। उनको सेटिङ प्रदेशसम्म फैलिसकेको थियो।
प्रधानमन्त्री र मन्त्रीको सचिवालयका सदस्यलाई विभिन्न प्रलोभनमा पारेर ठूला निर्णय गराउन सक्ने ल्याकत उनीसँग थियो। पछिल्ला केही वर्षदेखि उनको प्रभाव सचिवसम्म पुगेको थियो। शक्तिकै आडमा उनले आर्थिकरुपमा पनि ठूलै छलाङ मारेका थिए।
उनले सचिवहरुलाई काठमाडौंमा ५/६ वटा घर रहेको भन्दै गुड्डी समेत हाँक्थे। उनले नेताहरुसँगको पहुँचका आधारमा सरुवा गरेको देखेपछि सचिवहरु नलोभिने कुरै भएन।
तर भदौ २३ र २४ को जेनजी आन्दोलनबाट सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि शाहीको सेटिङ भत्किएको अनुमान कर्मचारीहरुले गरेका थिए।
तर, शाहीको सेटिङ झन् मजबुत भयो। केही समयअघि निवृत्त भएका एक सचिवका अनुसार कार्की प्रधानमन्त्री भएका बेला बालुवाटारबाट बोलावट भयो। निम्ता अनुसार बालुवाटार पुग्दा शाही पनि कार्कीको सचिवालयका सदस्यसँग थिए। त्यो दृष्यले ती पूर्वसचिव छक्क परेका थिए।
स्रोतका अनुसार त्यो बेलामा मेलम्ची खानेपानी आयोजनामा चिनियाँ कम्पनी सीएमसीसँगको दाबी भुक्तानी विवाद मिलापत्रमार्फत गर्न दबाब दिइएको थियो। सीएमसीले ५ अर्ब ६९ करोड दाबी गर्दै सिंगापुरमा आर्बिट्रेसन गरेको छ भने सरकारले ३ अर्ब ७१ करोड रुपैयाँ काउन्टर दाबी गरेको छ।
स्रोतका अनुसार त्यो विवादलाई मिलापत्रमार्फत टुंग्याउन दबाब दिइएको ती पूर्वसचिवले जानकारी दिए। तर, उनले मानेनन्। स्रोतका अनुसार उनै शाहीले आफ्नै कम्पनीलाई सर्टलिस्टमा पार्न समेत दबाब दिएका थिए। विगतमा शाहीले यसरी नै विभिन्न उच्च कर्मचारीलाई होटलदेखि रेष्टुरेन्टमा भेट्न बोलाउने र त्यसैलाई आधार मानेर ट्र्यापमा पार्ने गरेको स्रोतले बतायो।










