संकटको मुखमा घरेलु दुई सिरिजले नेपाललाई राहत : टिममा उथलपुथलले ‘कमब्याक’



मुकुन्द घिमिरे
२०८३ जेठ १० गते १४:५२ | May 24, 2026
संकटको मुखमा घरेलु दुई सिरिजले नेपाललाई राहत : टिममा उथलपुथलले ‘कमब्याक’


काठमाडौं। यो महिना नेपाली क्रिकेटका लागि परीक्षा सरह थियो, खासगरी एकदिवसीय क्रिकेटमा। क्रिकेट विश्वकप लिग-२ मा नेपाल २० खेल खेल्दा मात्रै ५ जित निकालेर ८ टोलीमध्ये सातौं स्थानमा थियो।

Tata
GBIME

बाँकी खेल संख्या घट्दै जाँदा ग्लोबल क्वालिफायर त टाढाको कुरा, एकदिवसीय मान्यता जोगिने सम्भावना नै न्यून हुँदा अघिल्लो साइकलमा जस्तो जादु चाहिएको थियो।

नेपालले घरेलु दुई सिरिजमा सानदार प्रदर्शन गर्दै एकदिवसीय मान्यता जोगाउने लक्षण देखाएको छ। यसअघि २० खेल खेलेर पाँच जित निकालेको नेपालले त्यसपछिका ८ मध्ये ६ खेलको नतिजा आफ्नो पक्षमा पारेको छ। निकै मुस्किल अवस्थाबाट गुज्रिरहेको नेपालले घरेलु मैदानमा भएका खेलमा ६ जितका कारण राहतको सास फेरेको छ।

पहिलेका २० खेलमा के गलत भएको थियो? र पछिल्ला ८ खेलमा के सही भयो? नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसँग स्पस्ट जवाफ छैन।

रोहित पौडेल

‘अगाडि राम्रो खेलेनौं, अहिले राम्रो खेल्यौं। फरक त्यही हो,’ उनले भने, ‘अघिल्ला २० खेलमा हामीले राम्रो खेलेनौं। अरु त केही फरक छैन जस्तो लाग्छ। ठ्याक्कै के कमजोरी भएको थियो, त्यो म भन्न सक्दिन।’

रोहित पछिल्ला दुई सिरिजले दिएको नतिजाले आशावादा भएका छन्। ‘शीर्ष चारमा रहनेमा आशावादी छु। हामीले आफ्नो स्तरको खेल खेले सक्षम हुनेछौं,’ सिरिजपछि उनले भने।

के फेरियो यो सिरिजमा?

नेपाली क्रिकेटमा पछिल्ला वर्षमा एकदमै कम प्रयोग हुँदै आएको छ। प्लेइङ सेटका खेलाडी लय भए पनि नभए पनि टोलीमै रहिरहने तर घरेलु क्रिकेटमा आफूलाई प्रमाणित गरेका खेलाडी राष्ट्रिय टोलीसम्म पुग्न नसक्ने परिस्थित थियो।

घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरेका खेलाडी यसपालि राष्ट्रिय टोलीमा आउँदा शीर्षक्रमको प्रतिस्पर्धा उच्च रह्यो। शीर्षक्रममा आशिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, विनोद भण्डारी, भीम सार्की र इशान पाण्डेको दाबेदारी रहँदा नयाँका लागि अवसर र पुरानाका लागि चुनौती बन्यो। यी दुई सिरिजमा भएको प्रयोगले नतिजा पनि राम्रो आयो।

तीन खेलमा ड्रप भएपछि सानदार कमब्याक गरेका कुशलले स्वीकारे- एउटा गलत निर्णयले मलाई तीन खेलमा बाहिर बसाइदियो।  

नियमित ओपनर आशिफ र कुशलले ‌ओपनिङमा संघर्ष गरिरहँदा प्रशिक्षक स्टुअर्ट लले दुबैलाई बाहिर राखेर टोलीका सबैभन्दा युवा खेलाडी अर्जुन कुमाल र सबैभन्दा पाका खेलाडी विनोद भण्डारीलाई ओपनिङमा पठाए। घरेलु क्रिकेटमा ‘उस्ताद’ बन्दै आएका यी दुईलाई अन्तर्राष्ट्रिय क्रिकेटमा मेरुदण्ड बन्दै आएका कुशल र आशिफको स्थान भर्नुपर्ने चुनौती थियो।

पाएको अवसरमा विनोद चुकेनन्। उनले यूएईविरुद्ध अर्धशतकीय इनिङ्स खेल्दै ५६ रन बनाए। अर्जुन भने यो खेलमा ११ रनमै समेटिए। त्यसपछिका खेलमा विनोद चलेनन्, अर्को खेलमा अर्जुनले ४८ रनको इनिङ्स खेले।

अर्जुन कुमाल। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू

ओपनिङमा चर्को प्रतिस्पर्धा चलिरहँदा अर्कातर्फ तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका भीमले योगदान दिन सकिरहेका थिएनन्। पहिलो सिरिजको चौथो खेलमा आशिफले पुनरागमन गर्दै विनोदसँग ओपनिङमा आउँदा अर्जुनले भीमको स्थानमा ब्याटिङ गरे। यो खेलमा आशिफले ९४ रनको इनिङ्स खेल्दै आफूलाई प्रमाणित गर्दा अर्जुनले ४८ रन बनाए। विनोद डकआउट भए।

त्यसपछि सुरु भयो स्कटल्याण्ड र अमेरिकाविरुद्धको सिरिज। यो खेलमा भण्डारी १० र अर्जुन शुन्यमै पभेलियन फर्किएपछि अर्को खेलमा फेरि दुई ठूला परिवर्तन भए।

यसपालि आशिफसँग कुशल नै ओपनिङ गर्न आए। तेस्रो नम्बरमा देब्रे हाते ब्याटर इशान पाण्डेलाई राखियो। कमब्याक खेल कुशलको आशिफ र विनोदको भन्दा पनि दमदार रह्यो। अमेरिकाविरुद्ध १२० रनको अविजित पारी खेल्दै कुशल प्लेयर अफ दी म्याच नै बने। यसमा आशिफले ५८ रन बनाउँदा इशान २० रनमा अविजित रहे।

यो सिरिजको तेस्रो खेलमा कुशल र आशिफको प्रदर्शन ठीकठाक रह्यो। उनीहरुले क्रमश: २८ र २९ रन जवड्दा इशानले ५५ रन बनाउँदै तेस्रो नम्बरमा आफूलाई स्थापित गर्न बाटो खोले। इशान ८४ रनको योगदान दिँदै अन्तिम खेलमा प्लेयर अफ दी म्याच बने।  

उनी पछि आएका रोहितले पनि अविजित ७४ रनको इनिङ्स खेले। रोहित पनि पछिल्लो समय आफ्नो लयका कारण चर्को आलोचना खेपिरहेका खेलाडी हुन्।

कमजोरीमै बलियो प्रतिस्पर्धा!

लामो समय नेपाली क्रिकेटको कमजोरी के थियो? समग्रमा पछिल्ला दशकलाई हेर्दा जवाफ आउँछ- ‌ओपनिङ। तर, यो दशकमा आशिफ र कुशल सेट भएपछि यसमा नेपालले ठूलो राहत पाएको छ। आशिफ र कुशलसँगै शीर्षक्रमको जिम्मेवार ब्याटिङ नहुँदा नेपालले धेरै खेल गुमाएको छ। उनीहरुले बलियो सुरुवात दिलाएका खेल नेपालले जितेको छ।

नेपाली ब्याटिङको शीर्षक्रमले लय बिगारिरहँदा अब भने दबाबको स्थिति देखिएको छ। राष्ट्रिय टोलीमा बढेको चर्को प्रतिस्पर्धाले शीर्षक्रमका ब्याटरलाई सकेसम्म गल्ती नगर्ने स्थितिमा पुर्‍याएको छ। कुशल, आशिफ, अर्जुन, विनोद, इशान, भीम, देव खनाल जस्ता खेलाडी उच्च लयमा छन्। कसैले घरेलु क्रिकेटमा राम्रो गरिरहेका छन् त कसैले राष्ट्रिय टोलीका लागि।

शतकपछि कुशल भुर्तेल। तस्बिर : क्यान

सिरिजको अन्तिम खेलमा त नेपालले आफ्नो पूरा सम्भावना देखाएको रोहित बताउँछन्। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो।

अंकतालिका र आगामी दुई अवे सिरिज

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अब दुईवटा अवे सिरिज खेल्न बाँकी छ। पछिल्ला दुई सिरिजबाट आशा जागे पनि नेपालको जोखिम कम भएको छैन। कप्तान रोहितले शीर्ष चारमा पर्ने लक्ष्य रहेको बताइरहँदा अंकतालिका पनि हेर्नुपर्ने हुन्छ।

८ टोली सहभागी लिग-२ मा नेपाल २८ खेलबाट २४ अंक बनाउँदै तालिकाको पाँचौं स्थानमा छ। नेपालभन्दा अघि रहेको नेदरल्याण्ड्स २८ अंकसहित चौथो स्थानमा छ। तर, नेदरल्याण्डले नेपालले भन्दा ४ खेल कम खेलेको छ। उसले २४ खेलबाटै २८ अंक बनाएको हो।

त्यस्तै, तेस्रो स्थानको ओमनले नेपाल जति नै खेल खेलेर ३१ अंक बनाएको छ। उसलाई यथास्थितिमा भेट्न नेपालले चार खेलमा जित निकाल्नु पर्नेछ।

शीर्ष दुई स्थानका टोली हुन् स्कटल्याण्ड र अमेरिका। अमेरिकाका लागि विश्वकप लिग-२ मा उसको सबैभन्दा खराब सिरिज नै नेपाल सिरिज बन्यो। यो सिरिजमा उसले ४ मध्ये ३ खेल गुमायो।

त्यस्तै, स्कटल्याण्डले ४ मध्ये २ जित निकाल्दै औसत खेल्यो। यी दुबै टोलीको समान ३८ अंक छ। तर, अमेरिकाले २८ खेलमात्रै खेल्दा स्कटल्याण्डले ३२ खेल खेलिसकेको छ। यी दुई टोली नेपालभन्दा ७ जितले अघि छन् जबकि नेपालले ८ खेल मात्र खेल्न बाँकी छ। त्यसैले अहिले यी दुईलाई भेट्ने नेपालको लक्ष्य छैन। नेपाल शीर्ष चारमा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न चाहन्छ।

नेपालले शीर्ष चारमा रहन चाहँदा पछाडिका टोली पनि कमजोर स्थितिमा छैनन्। २८ खेल खेलेको नामिबिया २२ अंकसहित नेपालभन्दा एक जितले मात्र पछाडि छ। त्यस्तै, २४ खेल खेलेको क्यानडा २१ अंकसहित नेपालभन्दा दुई खेलले पछाडि छ। पुछारको यूएई १४ अंकसहित ५ खेलले पछाडि छ।

घरेलु मैदानमा लगालग जितेजस्तो विदेशी भूमिमा सहज नहुने नेपालले पनि बुझेको छ। ‘बाहिर गएर हामी खेल्न सक्दैनौं भन्ने होइन। शीर्ष ८ मा कमजोर टोली छैनन्। उनीहरुलाई पनि घरेलु मैदानमा एडभान्टेज हुन्छ,’ कप्तान रोहितले भने।