सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस, समितिले वाग्लेलाई बुझाएको सूचीमा को-को?



सुनिल कुँवर
२०८३ जेठ ८ गते २०:०७ | May 22, 2026
सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस,  समितिले वाग्लेलाई बुझाएको सूचीमा को-को?


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षका लागि तीन जनाको नाम करिब करिब पक्का भएको छ। सर्टलिस्टमा परेका चार जनाको शुक्रबार प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम पक्का गरिएको हो।

Tata
GBIME

उच्च स्रोतका अनुसार विनयदेव आचार्य, डा. गोपाल भट्ट र मुकुन्दकुमार क्षत्रीको नाम सिफारिस गर्ने पक्का भएको छ। सर्टलिस्टमा परेका डा. नवराज अधिकारी आउट भएका छन्।

‘चार जनाको प्रस्तुतीकरण, अन्तर्वार्ता र बायोडाटा हेरेर तीन जनाको नाम सिफारिस गर्ने टुंगो लागेको छ,’ स्रोतले बिजमाण्डूसँग भन्यो, ‘त्यही सूची अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाउनेछौं।’

अर्थमन्त्री वाग्लेले सम्भवत अब बस्ने मन्त्रिपरिषद् बैठकमा सेबोन अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्।

स्रोतका अनुसार सेबोन अध्यक्षका लागि अर्थमन्त्री वाग्लेले सिफारिसमा पर्नेको सूचीमा धेरै चासो राखेका छैनन्। त्यही भएर नाम परिवर्तन हुने सम्भावना नरहेको स्रोतले बतायो।

‘नियामक निकायमा आउने व्यक्ति विवादरहित हुनुपर्छ भन्नेछ। मन्त्रीज्यूले पनि सूचीमा यो नाम राख्नु भन्नुभएको छैन,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको सचिवालयबाट समेत खासै चासो राखिएको छैन। त्यसैले तीन जनाको नाम परिवर्तन नहोला।’

स्रोतका अनुसार ४७ जना आवेदकबाट सर्टलिस्ट गर्दा पनि अर्थमन्त्री वाग्ले र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले कुनै हस्तक्षेप गरेनन्। यद्यपि आवेदन दिएका धेरैजना बालेनको सचिवालयमा धाएका थिए।

‘सेबोनको अध्यक्षका लागि लाइन लाग्ने धेरै थिए। सबैलाई हुन्छ, भनौंला भनेर पठाइएको थियो। अर्थमन्त्री वाग्लेलाई खासै केही दबाब दिएको पाइएको छैन,’ स्रोतले भन्यो, ‘त्यसैले समितिको सिफारिस परिवर्तन हुने सम्भावना देखिंदैन।’

सिफारिसमा परेका आचार्य सेबोनका कार्यकारी निर्देशक हुन्। एमबीए गरेका आचार्यले सेबोनको ब्यूरोक्रेसी बुझेकाले नियुक्ति पाएको अवस्थामा काम गर्न उनलाई सहज हुनेछ।

क्षत्री नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। चार्टर्ड एकाउन्टेन्ट क्षत्रीले सेबोनको संचालक समिति सदस्य भएर समेत काम गरेका थिए। रमेश हमाल अध्यक्ष हुँदा उनी सेबोनको संचालक थिए।

अर्का प्रतिस्पर्धी भट्ट पनि राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन्। उनले पुँजीबजारका विषयमा विद्यावारिधि गरेका छन्।

स्रोतका अनुसार अध्यक्षका लागि तीनै जनाले राजनीतिक लबिइङ बढाउन खोजिरहेका छन्। तर, विगतमा जस्तो घरघरमा पुगेर नियुक्तिका लागि बिचौलियामार्फत थैली बुझाउन अहिले निषेध नै छ।

नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन माओवादीमा सत्ताको म्युजिकल चेयर रहँदा सेबोनको अध्यक्षमा नियुक्ति पाउन तीन दलका शीर्ष नेतालाई खुशी बनाउनुपर्ने बाध्यता थियो। नेताको दैलोमा धाएर खुशी तुल्याउन नसक्नेले नियुक्ति पाउँदैनथे।

सेबोन अध्यक्षको नियुक्तिलाई लिएर दुई वर्षअघि सत्ता नै उलटफेर भएको थियो। सेबोन अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई ल्याउनका लागि एमालेले २०८१ असारमा माओवादीसँगको गठबन्धन फेरेर नेपाली कांग्रेससँग मिली आफ्नो नेतृत्वमा सरकार बनाएको थियो।