नेपालले हरायो अमेरिकालाई १ सय २२ रनले हरायो,ब्याटिङ र बलिङ दुबै पर्फेक्ट!



बिजमाण्डू
२०८३ जेठ ८ गते १७:२७ | May 22, 2026
नेपालले हरायो अमेरिकालाई १ सय २२ रनले हरायो,ब्याटिङ र बलिङ दुबै पर्फेक्ट!
जितपछि नेपालको सेलिब्रेसन। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। नेपाली क्रिकेट टोलीले अमेरिकालाई हराएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको हो। योसँगै नेपालले अमेरिका र स्कटल्याण्डको सिरिजको चारमध्ये तीन खेल जित्दा महत्वपूर्ण ६ अंक जोड्दै सिरिज टुंगाएको छ।

Tata
GBIME

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहायतामा निर्धरित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अमेरिका ४१.१ ओभरमा १९५ रनमा समेटियो।

जितपछि नेपाली खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

अमेरिकालाई रोक्न पहिलो ओभरमै सोमपाल कामीले अमेरिकाका ओपनर स्मिथ पटेललाई डकआउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। २७ रन बनाएका सायन जाहिन्गरलाई पभेलियन फर्काउँदै सन्दिप लामिछानेले दोस्रो सफलता दिलाए। तेस्रो विकेट दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो। उनले २६ रन बनाएका शेहान जयसूर्यालाई बोल्ड आउट गरे। २२ रन बनाएका कप्तान साइतेजा मुक्कामल्ला लामिछानेको बलमा बोल्ड आउट हुँदा नेपालले मोमेन्टमलाई आफूतर्फ ढल्काउन सफल भयो।

धर्मराएको अमेरिकी ब्याटिङ सम्हाल्दै चुनौती थप्ने काम सञ्जय कृष्णमुर्थीले गरे। २२.३ ओभरमा ९५-७ को अफ्ठेरो स्थितिमा रहेको अमेरिकालाई उनले अर्धशतकीय इनिङ्स खेल्दै ३४.४ ओभरमा १६५-८ को स्थितिसम्म पुर्‍याए। उनले अमेरिकाका लागि सर्वाधिक ५६ रन बनाए।

नेपाललाई पहिलो सफलता दिलाएका सोमपाल कामी। तस्बिर: क्यान

बलिङमा सन्दीप लामिछानेले ३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले समान २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक विकेट लिए।

अमेरिकामाथि नेपालको जितको क्षण। तस्बिर: सुशिल श्रेष्ठ/बिजमाण्डू

नेपालको इनिङ्स

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले अमेरिकासामू ३१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

सो क्रममा नेपालले ३५ वटा ‘बाउन्ड्री’ प्रहार गर्‍यो। नेपालले २६ चौका र ९ छक्का प्रहार गर्‍यो।

यस क्रममा अर्धशतकीय इनिङ्स खेलेका इशान पाण्डेले सर्वाधिक ९ बाउन्ड्री प्रहार गर्दा अर्को अर्धशतकीय इनिङ्स खेलेका दीपेन्द्रसिंह ऐरीले ८ बाउन्ड्री प्रहार गरे।

क्रिजमा गुल्सन झा र दीपेन्द्रसिंह ऐरी। तस्बिर: क्यान

यो स्कोर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा ठूलो स्कोर भने होइन। सन् २०२५ को जुनमा ३२३ रनको लक्ष्य पछाउँदै नेपालले ३२१ रन बनाएको थियो। उक्त खेलमा हार ब्यहोरे पनि नेपालले ओडीआईमा बनाएको त्यो नै ठूलो स्कोर हो।

आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाउन सफल भयो।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गर्दै नेपाललाई ठीकठाक सुरुवात दिलाए। भुर्तेलले २९ रन बनाउँदा शेखले ४३ रन बनाएर पभेलियन फर्किए।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका इशान पाण्डेले नेपालको इनिङ्स उकास्न महत्त्वपूर्ण योगदान दिए। उनले ८३ बलमा ८४ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले ४६ रनको योगदान दिए।

मध्यक्रममा आएका दीपेन्द्रसिंह ऐरीको लयले आज पनि निरन्तरता पायो। उनले ३६ बलमा ५९ रन बनाउँदै नेपालको स्कोरलाई ह्वात्तै माथि लगे। त्यस्तै, गुल्सन झाले १५ तथा आरिफ शेखले १७ रन बनाए।

बलिङमा अमेरिकाका शुभम रञ्जनीले ३ विकेट लिँदा रुसिल उघाकर र मिलिन्द कुमारले समान १ विकेट लिए।

अंकतालिकामा राहत

नेपालले पछिल्ला दुई सिरिजबाट अंकतालिकामा राहत पाएको छ। सुरुवाती २० खेल खेल्दा ५ वटामा जित निकालेको नेपालले पछिल्ला ८ खेलमा ६ वटा जित निकाल्दै सातौँ स्थानबाट पाँचौँ स्थानमा पुग्न सफल भयो। हाल पाँचौँ स्थानमा रहेको नेपालको २८ खेलबाट २४ अंक छ भने छैटौं स्थानको नामिबियाको २८ खेलबाट २२, सातौँ स्थानको क्यानडाको २४ खेलबाट २१ र पुछारको यूएईको २४ खेलबाट १४ अंक छ।

दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने। तस्बिर: क्यान

नेपाल भन्दा अगाडि चौथो स्थानमा रहेको नेदरल्याण्ड्सको २४ खेलबाट २८ अंक छ भने तेस्रो स्थानको ओमनको २८ खेलबाट ३१ अंक छ। शीर्ष दुईमा रहेका स्कटल्याण्ड र अमेरिकाको समान ३८ अंक छ।