‘३५ बाउन्ड्री’ प्रहार गर्दै नेपालले अमेरिकाविरुद्ध गर्‍यो बलियो ब्याटिङ, पाण्डे र ऐरीको अर्धशतक



बिजमाण्डू
२०८३ जेठ ८ गते १४:०१ | May 22, 2026
‘३५ बाउन्ड्री’ प्रहार गर्दै नेपालले अमेरिकाविरुद्ध गर्‍यो बलियो ब्याटिङ, पाण्डे र ऐरीको अर्धशतक


काठमाडौं। नेपाली क्रिकेट टोलीले अमेरिकाविरुद्ध बलियो चुनौती प्रस्तुत गरेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकासामू ३१८ रनको लक्ष्य प्रस्तुत गरेको हो।

Tata
GBIME

सो क्रममा नेपालले ३५ वटा ‘बाउन्ड्री’ प्रहार गर्‍यो। नेपालले २६ चौका र ९ छक्का प्रहार गर्‍यो।

यस क्रममा अर्धशतकीय इनिङ्स खेलेका इशान पाण्डेले सर्वाधिक ९ बाउन्ड्री प्रहार गर्दा अर्को अर्धशतकीय इनिङ्स खेलेका दीपेन्द्रसिंह ऐरीले ८ बाउन्ड्री प्रहार गरे।

क्रिजमा गुल्सन झा र दीपेन्द्रसिंह ऐरी। तस्बिर: क्यान

यो स्कोर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा ठूलो स्कोर भने होइन। सन् २०२५ को जुनमा ३२३ रनको लक्ष्य पछाउँदै नेपालले ३२१ रन बनाएको थियो। उक्त खेलमा हार ब्यहोरे पनि नेपालले ओडीआईमा बनाएको त्यो नै ठूलो स्कोर हो।

आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाउन सफल भयो।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गर्दै नेपाललाई ठीकठाक सुरुवात दिलाए। भुर्तेलले २९ रन बनाउँदा शेखले ४३ रन बनाएर पभेलियन फर्किए।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका इशान पाण्डेले नेपालको इनिङ्स उकास्न महत्त्वपूर्ण योगदान दिए। उनले ८३ बलमा ८४ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले ४६ रनको योगदान दिए।

मध्यक्रममा आएका दीपेन्द्रसिंह ऐरीको लयले आज पनि निरन्तरता पायो। उनले ३६ बलमा ५९ रन बनाउँदै नेपालको स्कोरलाई ह्वात्तै माथि लगे। त्यस्तै, गुल्सन झाले १५ तथा आरिफ शेखले १७ रन बनाए।