गुजरातले पहिलो क्वालिफायर खेल्ने पक्का हुँदा चेन्नइ बन्यो बाहिरिने तेस्रो टोली



बिजमाण्डू
२०८३ जेठ ८ गते ०६:०३ | May 22, 2026
गुजरातले पहिलो क्वालिफायर खेल्ने पक्का हुँदा चेन्नइ बन्यो बाहिरिने तेस्रो टोली
गुजरात र चेन्नइको खेल। तस्बिर: आईपीएल


गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ। गएराति अहमदाबादमा सम्पन्न खेलमा खेलमा चेन्नइलाई ८९ रनले हराउँदै गुजरातले शीर्षदुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो। यो गुजरातले आईपीएलमा निकालेको सबैभन्दा फराकिलो जित पनि हो।

Tata
GBIME

नरेन्द्र मोदी स्टडियममा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२९ रन बनायो। यसक्रममा साइ सुदर्शनले सर्वाधिक ८४ रन बनाउँदा शुभमन गिलले ६४ तथा जोस बटलरले अविजित ५७ रन बनाए। बलिङमा चेन्नइका मुकेश चौधरी, स्पेन्सर जोन्सन र अन्सुल खम्बोजले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ १३.४ ओभरमै १४० रनमा समेटियो। चेन्नइका लागि शिवम दुबेले सर्वाधिक ४७ रन बनाउँदा म्याथ्यु सर्ट र अन्सुल खम्बोजले १९ रन बनाए। बलिङमा गुजरातका मोहम्मद सिराज, राशिद खान र कागिसो रबाडाले समान ३ विकेट लिए।

योसँगै चेन्नइ आईपीएलको प्लेअफ होडबाट औपचारिक रुपमा बाहिरिने तेस्रो टोली बनेको छ। यसअघि मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट बाहिरिएका थिए। त्यस्तै, प्लेअफ खेल्ने तीन टोलीको टुंगो लागिसक्दा अन्तिम स्थानका लागि राजस्थान, पञ्जाव, कोलकाता र दिल्ली होडमा छन्। यीमध्ये सबैभन्दा बलियो स्थितिमा राजस्थान छ।

 अर्कोतर्फ गुजरातले शीर्ष दुईमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ। प्लेअफ खेल्ने दोस्रो टोलीको टुंगो आजको खेलले लगाउने छ। शीर्ष दुईमा रहेका बेङ्ग्लुरु र गुजरात दुबैको १८ अंकछ। हैदराबादले आजको खेलमा बेङ्ग्लुरुमाथि भारी जित निकाल्न सकेमात्र उसको शीर्ष दुईमा रहने सम्भावना हुन्छ। हारको बावजुद पनि बेङ्ग्लुरु नै शीर्षदुई भित्र रहने सम्भावना बलियो छ।

आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लुरु भिड्दैछन्।