सेबोन अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्ट, अन्तर्वार्ता दिनेको सूचीमा को-को?



बिजमाण्डू
२०८३ जेठ ५ गते १६:१३ | May 19, 2026
सेबोन अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्ट, अन्तर्वार्ता दिनेको सूचीमा को-को?


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य अध्यक्ष रहेको सिफारिस समितिले अवकाशप्राप्त तीन जना कर्मचारीसहित मंगलबार ४ जनाको नाम सर्टलिस्ट गरेको हो।

Tata
GBIME

सेबोन अध्यक्षका लागि ४७ जनाले आवेदन दिएकामा समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षत्री र डा. गोपालप्रसाद भट्टलाई सर्टलिस्ट गरेको छ। उनीहरुलाई अन्तर्वार्ताका लागि जेठ ८ गते बोलाइएको छ।

समितिले सर्टलिस्ट गरेका अधिकारी सेबोनका पूर्वकार्यकारी निर्देशक हुन्। उनले करिब एक महिनाअघि अवकाश पाएका थिए। उनी यसअघि सेबोन अध्यक्षका लागि सिफारिस भएका थिए।

तर बिचौलिया दीपक भट्टको चाहना अनुसार तत्कालीन सरकारले २०८१ मंसिर दोस्रो साता सन्तोषनारायण श्रेष्ठलाई सेबोन अध्यक्ष नियुक्त गरेको थियो।

समितिले सर्टलिस्ट गरेका विनयदेव सेबोनका कार्यकारी निर्देशक हुन्। यस्तै क्षत्री र डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। क्षत्रीले राष्ट्र बैंकको प्रतिनिधिका रुपमा सेबोनको सञ्चालकका रुपमा पनि काम गरेका थिए।

सेबोन अध्यक्षबाट सन्तोषनारायणले वैशाख ४ गते राजीनामा दिएपछि ८ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।