काठमाडौं। स्कटल्याण्डले नेपालसामू १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ३९.१ ओभरमा अलआउट हुँदै १९४ रन बनाएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा स्कटल्याण्डका लागि शीर्षक्रमका ब्याटर ब्राण्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाउँदै इनिङ्सलाई आक्रामक हिसावले अघि बढाउन खोजेका थिए। ४४ बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे। उनको विकेट लिएर सन्दीप लामिछानेले नेपाललाई ब्रेकथ्रु दिलाएका थिए। उनीबाहेक माइकल इङ्ग्लिसले ५१ रन बनाउँदा जर्ज मुन्सेले २१ तथा मार्क वार्टले २० रनको योगदान दिए।
बलिङमा पेसरहरुले संघर्षगर्दा स्पीनरहरु हाबि भए। ललित राजवंशीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट लिँदै स्कटल्याण्डको ब्याटिङलाई धराशायी बनाउँदा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान १ विकेट लिए। योसँगै सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा १५० विकेट पनि पूरा गरेका छन्। उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट लिने खेलाडी बनेका हुन्। उनले ७३ खेलबाट यो कीर्तिमान बनाउँदा ७७ इनिङ्सको कीर्तिमानलाई पछि पारे। यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो।
ललितले ८ ओभर बलिङ गरेर ३२ रन दिँदा लामिछानेले आफ्नो स्पेल पूरा गर्दै ४७ रन खर्चिए। महँगो सावित भएका सोमपाल कामीले ४ ओभर बलिङ गरेर १ विकेट लिँदै ३० रन खर्चिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।










