काठमाडौं। सरकारको नीति तथा कार्यक्रमपछि लगातार ३ दिन ओरालो लागेको सेयर बजार शुक्रबार सामान्य अंकले बढेको छ।
कारोबार खुलेदेखि उतारचढाव देखिएको नेप्से परिसूचक शुक्रबार अन्तिममा १.७७ अंक बढेर २७३१.९४ विन्दुमा बन्द भएको हो। कारोबारमा आएका बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बीमा कम्पनी, अन्य र ट्रेडिङ समूहले बजार बढाएका हुन्।
बजारमा १२७ कम्पनीको सेयर मूल्य बढेको छ। नबिल डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ७.७१ प्रतिशतले बढेको छ। बजारमा १२० कम्पनीको मूल्य घटेको छ। युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.७९ प्रतिशतले घटेको छ।
सूचक बढे पनि कारोबार रकम खुम्चिएको छ। बिहीबार बजारमा ३ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएकामा शुक्रबार ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ।
बजारमा सबैभन्दा धेरै युनियन हाइड्रोपावरको ३० करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, अपी पावरको ११ करोड ४४ लाख र रिलायन्स स्पिनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।









