काठमाडौं। सेयर बजार लगातार तेस्रो दिन घटेको छ। नेप्से परिसूचक बिहीबार १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा आएको छ।
कारोबारमा आएका लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूहले बजार घटाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ।
बजारमा सेयरमूल्यमा गिरावट आएका १७४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। एसियन हाइड्रोपावरको सूचक सबैभन्दा धेरै ९.८९ प्रतिशतले घटेको छ।
सूचक घटे पनि बिहीबार करोबार रकम भने बढेको छ। बुधबार २ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार बढेर ३ अर्ब २९ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बजारमा ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको स्थिर रह्यो। युनियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ।
बजारमा हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक ३७ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीलाई बिहीबार नेपाल बीमा प्राधिकरणले नयाँ व्यवसाय गर्नमा दुई महिनाका लागि रोक लगाएपछिको प्रभाव सेयर मूल्यमा देखिएको हो। सेयरमूल्यमा भने ७.५५ प्रतिशतको गिरावट रहँदा अन्तिम कारोबार मूल्य ६२६ रुपैयाँ प्रति कित्ता रह्यो।
बजारमा साहस ऊर्जाको १८ करोड ७७ लाख र एसवाई प्यानलको १८ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।









