काठमाडौं । सरकारले पुँजी बजारको नियमनलाई बलियो बनाउने बताएको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो बताएका हुन।
सेयर बजारमा लगानीका वैकल्पिक उपकरण भित्र्याएर लगानी परिचालन गरिने नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको छ।
‘पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास गरिनेछ। धितोपत्र नियमन, नेप्से तथा क्लियर प्रणालीको पुनर्संरचना गर्दै संस्थागत लगानीकर्ता,बीमा, पेन्सन कोष, म्युचुअल फण्ड र गैरआवासीय नेपालको सहभागिता विस्तार गरिनेछ,’ पौडेलले भने।
नेप्से र सीडीएससीको पुनर्संरचना सरकारको घोषणा सरकारले दुई दशकदेखि गर्दै आएको छ। तर, व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्ति कायम छ। यसपटक पनि नीति तथा कार्यक्रममार्फत सोही घोषणा दोहोरिएको हो।
नीति तथा कार्यक्रममा डेब्ट बजार र पूर्वाधार बण्डको विकास गरेर पुँजी उपयोग गर्ने बताएको छ।
‘ऋण बजार, बण्ड बजार,पूर्वाधार बण्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गरिनेछ। वैकल्पिक विकास वित्त, डायस्बोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार विकासको नयाँ मोडल लागू गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।









