बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ। गएराति सम्पन्न एल क्लासिकोमा रियल मड्रिडलाई हराउँदै बार्सिलोना लिग च्याम्पियन बनेको हो।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा ६२ हजार बढी दर्शकको उपस्थितिमा गएराति सम्पन्न खेलमा रियल मड्रिडलाई २-० गोलले हराएसँगै बार्सिलोना लिग च्याम्पियन बनेको हो। बार्सिलोनाको जितमा दुबै गोल पहिलो हाफमा भएको थियो। खेलको ९ औँ मिनेटमै मार्कस रासफोर्डले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। १८ औँ मिनेटमा ड्यानी ओल्मको पासमा फेरान टोरेसले गोल गरेसँगै बार्सलोना पहिलो हाफमै २-० ले अगाडि रह्यो। दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन्।
योसँगै च्याम्पियन बनेको बार्सिलोनाको यो २९ औँ ला लिगा उपाधि हो। लिगमा बार्सिलोनाले अझ तीन खेल खेल्न बाँकी छ। उसले ३५ खेल खेल्दा ३० जित, चार हार र एउटामात्रै बराबरी खेलेर ९१ अंक बनाएको छ। दोस्रो स्थानको मड्रिडले समान खेलबाट ७७ अंक बनाएको छ। उसले ६ हार र ५ बराबरी खेलेको छ। तेस्रो स्थानको भिल्ला रियलको ६९ अंक छ।










