कलैया। बारामा यस वर्ष मौसम अनुकूल नभएकाले गहुँ उत्पादनमा २० प्रतिशतले कमी आएको छ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो।
केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२/८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गर्दा प्रति हेक्टर ३.१ मेट्रिकटन उत्पादन हुनुपर्नेमा २.४८ मेट्रिकटन भएको जानकारी दिए। उहाँका अनुसार चालु आवमा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ।
उत्पादित गहुँ स्तरीय भएकाले कलैयासहित आसपासका बजारमा प्रति क्विन्टल ४ हजारका दरले बिक्री भएको केन्द्रका कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिए। उनका अनुसार गत आवमा ४ अर्ब २ करोड ५६ लाख ६० हजार रुपैयाँ बराबरको ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो। रासस









