काठमाडौंका आधाभन्दा बढी सहकारीले बुझाएनन् विवरण, महानगरद्वारा ४५ दिने अल्टिमेटम



बिजमाण्डू
२०८३ बैशाख १९ गते ०८:०० | May 2, 2026
काठमाडौंका आधाभन्दा बढी सहकारीले बुझाएनन् विवरण, महानगरद्वारा ४५ दिने अल्टिमेटम


काठमाडौं। नवीकरण गर्न र वार्षिक प्रतिवेदन बुझाउन अटेर गर्ने सहकारी संस्थाहरुमाथि काठमाडौं महानगरपालिकाले कडाइ गर्ने भएको छ। दर्तावाल आधाभन्दा बढी सहकारी संस्थाले वार्षिक विवरण महानगरपालिकालाई बुझाएका छैनन्। महानगर क्षेत्रभित्रका १ हजार १ सय ७० सहकारी संस्थाले विवरण बुझाउन अटेर गरेका हुन्।

Tata
GBIME

काठमाडौं महानगरपालिकाको सहकारी विभागले शनिबार जारी गरेको सूचना अनुसार हाल महानगरभित्र सञ्चालित सहकारी संस्थाको संख्या १ हजार ८ सय ४८ वटा छ। गत बिहीबारसम्मको तथ्यांक अनुसार जम्मा ६ सय ६८ वटा संस्थाले मात्र विभागमा विवरण अद्यावधिक तथा नवीकरण गरेका छन्।

सबैभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरुले नवीकरण र वार्षिक विवरण बुझाउन अटेर गरेको पाइएको छ। महानगर क्षेत्रभित्रका कुल १ हजार ६ सय ४४ बचत तथा ऋण सहकारीमध्ये १ हजार ८५ वटाले अझै नवीकरण गरेका छैनन्। ५ सय ४९ ले मात्र विवरण अद्यावधिक गरेका छन्।

यसैगरी १६५ बहुउद्देश्यीय सहकारीमध्ये ६५ वटा, १६ कृषि सहकारीमध्ये ८ वटा र १३ उपभोक्ता सहकारीमध्ये ९ वटा नवीकरण नभएको विभागको तथ्यांक छ। सीपमूलक, स्वास्थ्य सेवा र सञ्चारतर्फका एक–एक वटा सहकारी पनि नवीकरण भएका छैनन् भने दुईवटा श्रमिक सहकारीले भने आफ्नो विवरण अद्यावधिक गरिसकेका छन्।

महानगरपालिकाले सहकारी संस्थाहरुलाई नियमित साधारण सभा गरेर अद्यावधिक विवरण ४५ दिनभित्र अनिवार्य रुपमा पेस गर्न निर्देशन दिएको छ। महानगरपालिकाको सहकारी ऐन २०७४ तथा नियमावली २०८० बमोजिम नियमित रुपमा सञ्चालन, अभिलेख व्यवस्थापन तथा वार्षिक विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था स्मरण गराउँदै अल्टिमेटम दिएको हो।

साथै महानगरले सहकारी संघसंस्थाहरुको स्थलगत अनुगमन तथा निरीक्षण कार्य नियमित रुपमा सञ्चालन भइरहेको जनाएको छ। अनुगमनका क्रममा देखाउनुपर्ने आवश्यक कागजातहरु अद्यावधिक तथा व्यवस्थित रुपमा राख्न महानगरले अनुरोध गरेको छ।

निर्धारित ४५ दिनको समय सीमाभित्र विवरण पेस नगर्ने तथा मापदण्ड विपरीत सञ्चालन भएका सहकारीहरुलाई प्रचलित कानून बमोजिम आवश्यक कारवाही गरिने चेतावनी समेत महानगरपालिकाले दिएको छ। थप जानकारी आवश्यक परेमा सहकारी विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिने सूचनामा जनाइएको छ।