नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलान सकियो, १४ दिनपछि यात्रा सहज



बिजमाण्डू
२०८३ बैशाख १९ गते ०५:४१ | May 2, 2026
नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलान  सकियो, १४ दिनपछि यात्रा सहज


त्रिवेणी (नवलपरासी)। नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ।

Tata
GBIME

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो। पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको उनले बताए।

एकतर्फी ढलानको काम सकिएको र अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै यातायात सञ्चालन हुनेछन्। दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको छ। अब १४ दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सडकबाटै यात्रा गर्न सकिने सूचना अधिकारी खनालले बताए।

‘दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ, अब चाँडै यात्रा सहज हुनेछ,’ उनले भने। दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग ६५ किलोमिटर सडक कालोपत्र र ढलानले जोडिएको उनले जानकारी दिए।

‘दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ, योसँगै पुरै ६५ किलोमिटर सडक कालोपत्र र पक्की सडकले जोडिएको छ,’ उनले भने, ‘अबको १४ दिनपछि पूर्वी खण्डका सबै क्षेत्रमा कालोपत्र र पक्की सडकमा यात्रा गर्न सकिन्छ।’

दाउन्नेको पूर्वी खण्डमा पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन। २०७५ अन्तिममा सुरु भएको नारायणगढ–बुटवल सडक विस्तारको काम २०७९ साउनमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम जिम्मा पाएको हो। ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी अघि बढाइएको काम निर्धारित समयमा सम्पन्न नभएपछि पटक–पटक म्याद थप भएको छ।

अहिले चौथो पटक थपिएको म्यादमा काम भइरहेको छ। आयोजना सुरु भएको सात वर्ष पूरा हुँदा यस खण्डको यात्रा सहज हुँदै गएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर लागत करिब रु १७ अर्ब छ। रासस