काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग गहुँ खरिद गर्नका लागि समर्थन मूल्य बढाएको छ।
गत महिना सरकारले गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ९४५ रुपैयाँ तोकेको थियो। तर, कम्पनीले यतिबेला किसानसँग प्रति क्विन्टल ४ हजार २५० रुपैयाँमा खरिद गरिरहेको छ।
कम्पनीले चालु आवका लागि सरकारले तोकेको समर्थन मूल्यमा थप ३०५ रुपैयाँ बढाएको कम्पनीका खरिद विभागका प्रमुख अनन्तराज पौडेलले बताए।
सरकारले समर्थन मूल्य तोक्ने समयमा बजारमा गहुँको मूल्य बढेर प्रति क्विन्टल ४ हजार ४०० रुपैयाँभन्दा बढी पुगेको थियो। बजारमा गहुँको मूल्य धेरै महँगो भएपछि कम्पनीले समर्थन मूल्य बढाएर खरिद गर्न थालेको उनले जानकारी दिए।
कम्पनीले चालु आवमा देशका विभिन्न स्थानबाट करिब १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ। गत वर्षभन्दा दोब्बर परिमाणमा गहुँ खरिद गर्ने लक्ष्य राखिएको हो।
चालु आवका लागि कम्पनीले करिब साढे ४ करोड रुपैयाँ बराबरको गहुँ खरिद गर्नेछ। हाल कम्पनीले कैलालीमा गहुँ खरिद सुरु गरिसकेको छ।
गत वर्ष कम्पनीले करिब ५ हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको भए पनि सरकारले तोकेको समर्थन मूल्य सस्तो हुँदा किसानले व्यवसायीलाई बिक्री गरेका थिए। गत वर्ष गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ८६७ रुपैयाँ थियो।
लामो समयदेखि सरकारले तोकेको समर्थन मूल्य सस्तो हुँदा कम्पनीले लक्ष्य अनुसारको गहुँ खरिद गर्न सकेको थिएन।









