शंकर समूह-दीपक भट्टबाट बैंक ऋण दुरुपयोग, सीआइबीलाई सघाउन राष्ट्र बैंकले पठायो जनशक्ति



बिजमाण्डू
२०८३ बैशाख १६ गते १२:१४ | Apr 29, 2026
शंकर समूह-दीपक भट्टबाट बैंक ऋण दुरुपयोग, सीआइबीलाई सघाउन राष्ट्र बैंकले पठायो जनशक्ति

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले दीपक भट्ट र शंकर समूहका सदस्यहरुबाट भएको ऋण अपचलनको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकको सहयोग मागेको छ।

Tata
GBIME
Nepal Life

बीमा, धितोपत्र र सम्पत्ति शुद्धीकरणमाथि अनुसन्धान चलिरहेका बेला सीआइबीले भट्ट र शंकर समूहका सुलभ अग्रवालका साथै साहिल अग्रवालले गरेको ऋण अपचलनको अनुसन्धान गर्न केन्द्रीय बैंकको सहयोग मागेको हो। राष्ट्र बैंकले एक जना उपनिर्देशकलाई सीआइबी कार्यालयमा खटाइसकेको छ।

यसअघि सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि राष्ट्र बैंकको सहयोग खोजेको थियो। भट्ट र शंकर समूहका सदस्यले तीन वटा फरक फरक ऋण दुरुपयोग गरेको फेला परेको छ।

यसमध्ये १५ करोडको ऋणका सम्बन्धमा राष्ट्र बैंकलाई सीआइबीले सोधेको थियो। त्यसमा राष्ट्र बैंकले ऋण दुरुपयोग भएको भनेर किटान साथ प्रतिवेदन बुझाइसकेको छ।

त्यसबाहेक अन्य ऋण पनि दुरुपयोग भएको भेटिएपछि सीआइबीले राष्ट्र बैंकको सहयोग लिएर अनुसन्धान थालेको हो।

दुई साताअघि जगदम्बा स्टीलका नाममा लिएको ऋणमध्ये १५ करोड रुपैयाँ भट्टलाई प्रयोजनबिनै भुक्तानी गरिएको भेटिएपछि त्यसबारे सीआइबीले राष्ट्र बैंकसँग के भएको हो भनेर सोधेको थियो। त्यो पैसा भट्टले विभिन्न बैंकहरुमा लगेर हिमालयन रि इन्स्योरेन्सको सेयर किन्न प्रयोग गरेको भेटिएको थियो।

राष्ट्र बैंकले विस्तृत अध्ययन गरेपछि दुरुपयोग भएको किटानसहित प्रतिवेदन बुझाएको थियो। त्यसबाहेकका ऋणहरुमा पनि कैफियत देखिएको छ। जगदम्बा समूहका विभिन्न कम्पनीमा ऋण लिएर त्यो पैसा व्यक्तिगत प्रयोजनमा प्रयोग भएको छ। ती सबै तथ्य केलाउन राष्ट्र बैंकले सीआइबीलाई सघाउन थालेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक र सुलभलाई करिब एक महिनादेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरुले विभिन्न पाँच ‘पब्लिक लिमिटेड’ कम्पनीको ३ अर्ब ७३ करोड रुपैयाँ निकालेर आफ्नो नाममा सेयर किनेको विषयमा अनुसन्धान चलिरहेको हो।

विभागको पत्रका आधारमा सीआइबीले हिमालयन रि इन्स्योरेन्सको सेयर लगानीका बारेमा अनुसन्धान सुरु गरेको थियो। त्यही क्रममा सीआइबीले नेपाल राष्ट्र बैंकको सहयोग लिएको छ।

स्रोतका अनुसार बिना प्रयोजन ऋणको पैसा तेस्रो पक्षलाई भुक्तानी गर्न मिल्दैन। विगतमा पनि यसरी दुरुपयोग भएको विषयमा बैंकिङ कसूर ऐन अनुसार कारबाही गरिएका उदाहरण छन्।

सीआइबी स्रोतका अनुसार राष्ट्र बैंकको प्रतिवेदनका आधारमा थप अनुसन्धान गरेर ब‍ैंकिङ कसूर ऐन अनुसार मुद्दा लैजाने तयारी छ। 

हिमालयन रि इन्स्योरेन्सको सेयर किन्नका लागि अरु ऋण पनि दुरुपयोग भएको भेटिएको हो। भट्ट, सुलभ, साहिल सहितका व्यवसायीविरुद्ध सम्पत्ति शुद्धीकरणका साथै बैंकिङ कसूर, धितोपत्र कसूर, बीमा कसूर र ठगीमा अनुसन्धान भइरहेको छ। यी मुद्दा गएपछि सम्पति शुद्धिकरणको मुद्दा पनि जाने छ।

सम्बन्धित कसुरमाथि अनुसन्धान गर्ने निकायले सम्पति शुद्धीकरण अनुसन्धान विभागका साथै सीआइबीमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाइसकेका छन्। 

नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज लगायतले प्रतिवेदन बुझाइसकेका हुन्। त्यसलाई समेत आधार मानेर सीआइबी र विभागले उनीहरुमाथि मुद्दा दायर गर्ने तयारी गरिरहेका छन्।

‘दीपक-सुलभ संलग्न भएको जुन फाइल खोल्यो, ती सबैमा समस्या देखिएको छ। एउटा-दुईटा होइन, हरेकमा समस्या छ,’ उच्च स्रोतले भन्यो, ‘अब लगभग अनुसन्धान सकिएको छ। केही दिनमै मुद्दा लैजान्छौं।’